• जीवनशैली | Jiwanshaili
  • ग्लोबल हुन नसकेपछि सोचको दायरा साँघुरो हुने रहेछ -हेम प्रभास


    हेम प्रभास एक शसक्त युवा कविको परिचयसहित सिर्जनाकर्ममा समर्पित छन् । धादिङ जिल्लाको नेत्रावती गाउँपालिकामा जन्मे, हुर्केर विगत २ दशकदेखि काठमाडौंलाई कर्मथलो बनाएका उनका ४ वटा कृति प्रकाशित छन् । एउटा उपन्यास र ३ वटा कविता सङ्ग्रह प्रकाशन गरेका उनी भन्छन्, मलाई कविता विधाले परिचय दिएको हो । कवितामा जत्ति राम्रो साहित्यका अरु विधामा गर्नसक्छु जस्तो लाग्दैन ।

    महोत्सवदेखि कविता वाचनसम्म

    मैले यी आँखाहरुमा हजुरलाई सजाएकी छु/हजुर खस्नुहुन्छ कि सोचेर/आजसम्म रोएकी छैन… वि.सं. २०७६ सालको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको कविताको अंश हो यो । महोत्सवमा हेमले ‘परदेश गएका पतिको नाममा’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । त्यसबाहेक विभिन्न कविता प्रतियोगिता र स्टेजमा कविता वाचन गरेर उनले अब्बल प्रस्तुति दिइसकेका छन् । समकालीन परिवेशका घटनाक्रमलाई टपक्कै टिपेर लेखिएका कविताको प्रस्तुतिका हिसाबले पनि उनलाई दर्शक/श्रोताले निकै रुचाउँछन् ।

    समकालीन परिवेशका घटनाक्रमलाई टपक्कै टिपेर लेखिएका कविताको प्रस्तुतिका हिसाबले पनि उनलाई दर्शक/श्रोताले निकै रुचाउँछन् ।

    कविताबाट सिनेमातिर

    अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका हेमले शिक्षण पेशामा एक दशक व्यतीत गरे । त्यहीबीचमा उनलाई लाग्यो कि, यो पेशामा सधैँभरी अडिइरहन सक्दिनँ । त्यसपछि आफ्नो रहरको विधातिर लागे । अध्यापनमा लागिरहकै बखत नेपालमै फिल्मको औपचारिक पढाइ सुरु भयो । हेमले ओस्कार कलेजबाट ब्याचलर इन फिल्म स्टडीको डिग्री हासिल गरे । यसरी सुरु भएको सिनेमा यात्रा भिडियो निर्देशन, सिनेमा लेखन हुँदै क्रमशः फिल्म निर्माणतिर केन्द्रित भएको उनी बताउँछन् ।

    पछिल्लो समय कविता लेखन सँगसँगै सिनेमातिर लागेको उनको भनाई छ । छोटो समयमै ४ दर्जन बढी गीतको भिडियो निर्देशन गरिसकेका छन् । कालीप्रसाद रिजाल, राजेन्द्र थापा लगायतका गीतहरुमा उनको निर्देशन कौशल देख्न सकिन्छ ।

    सिनेमा लेखन र भिडियो निर्देशनमा व्यस्त उनी भन्छन्, ‘म यहाँसम्म आइपुगेको कविताकै माध्यमबाट हो । पोयट्री नै मेरो आधार हो ।’

    राजेश हमालको ‘पोट्रेट’ कविता

    पहाड बोकेर पहाडतिर, शहर पसेको मान्छे र गीतैगीतको गाउँ शीर्षकका ३ वटा कृति यसअघि प्रकाशित भइसकेका छन् । यी कृतिहरु व्यावसायिक हिसाबले पनि राम्रै भएको उनी बताउँछन् । चौथो कविता कृति यसै वर्षको अन्तसम्ममा प्रकाशन गर्ने तयारीमा छन् । यसपालि अप्रकाशित कविताहरुको सङ्ग्रह प्रकाशन गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।

    समाज र व्यक्ति, व्यक्तित्वसँग सम्बन्धित घटनाको स्केच कोर्नु र त्यसको शसक्त प्रस्तुति गर्नु साहित्य लेखनको ध्येय हो । यसमा हेमको उपस्थिति निकै बलियो छ ।

    शब्दशिल्पीहरुले विभिन्न कोणबाट विषयवस्तु उठाउँछन् । त्यसलाई विभिन्न ढाँचामा ढालेर प्रस्तुत गर्छन् । संसारभरि नै पोट्रेट कविताहरु लेखिन्छन् ।

    ‘हेम’ प्रभासले लेखेको पहिलो पोट्रेट कविता थियो राजेश हमालको बारेमा ।

    ‘हेम’ प्रभासले लेखेको पहिलो पोट्रेट कविता थियो राजेश हमालको बारेमा । महानायकको परिचय पाएका हमाललाई भेट्ने मौका नै नपाउँदै लेखिएको त्यो कविता कुनै माध्यमबाट राजेश हमालसम्म पुगेछ । कविता पढेपछि एकाबिहानै राजेशले हेमलाई फोन गरे । सुरुमा उनलाई फोन गर्ने मान्छे राजेश हमाल नै हो भन्ने पत्यार लागेन । कुनै साथीले जिस्क्याएको ठानेर उनले खासै रेन्पोन्स गरेनछन् ।

    उनलाई कविताको पात्र स्वयंले फोन गरेर धन्यवाद दिएका थिए । जब फोन गर्ने मान्छे राजेश हमाल नै हो भन्ने पक्का भयो हेम औधी खुशी भए ।

    ‘उल्झन’को विमोचनमा राजेश हमाल

    वि.सं. २०७४ साउनमा हेम प्रभासको उपन्यास कृति ‘उल्झन’ प्रकाशित भयो । युवाहरुमा डिप्रेसन बढाउने कारणहरु केके हुन् ? परिवार र समाजले अनुभुति नगर्ने तत्वहरुले युवालाई कसरी भित्रभित्रै दुःख दिन्छन् भन्ने विषयवस्तुमा सो उपन्यास केन्द्रित छ ।

    धेरै पहिले कविताको माध्यमले जोडिएका राजेश हमालले उनको उपन्यास सार्वजनिक गरे । त्यतिमात्रै होइन, राजेशले सो कार्यक्रममा एक मुख्य वक्ताको रुपमा कृतिको समीक्षा गरे । हेमले आफ्नो बारेमा लेखेको कविता सम्झिए ।

    राजेशले उक्त कार्यक्रममा उपन्यासको समीक्षा गर्दै भनेका थिए – “जीवन ‘लिनियरली’ चल्दैन । जीवनमा अनेक किसिमका घुम्तीहरु आउँछन् । ती हरेक घुम्तीहरु एकआपसमा नितान्त फरक हुन्छन् । कुनैको पनि एकापसमा ‘लिङ्क-अप’ हुनु जरुरी छैन ।

    जीवन ‘लिनियरली’ चल्दैन । जीवनमा अनेक किसिमका घुम्तीहरु आउँछन् ।

    मानिसको जीवन ‘सिंगल म्याराथुन रेस’ होइन । विभिन्न रेस मिलेको सँगालो हो । विभिन्न कथाहरुको कथा हो जीवन । हरेक कथा आ-आफ्नै परिवेशको, आफ्नै किसिमको र परिस्थितिको हुन्छ । आफैमा एउटाको सुरुवात हुन्छ र अन्त्य हुन्छ । उहाँले किताब त्यही हिसाबले लेख्नुभएको छ ।

    यौटा पाठकको हिसाबले मलाई मनपर्ने कथाहरु यस्तै हुन् । सीधा हिसाबले भन्दा पनि विभिन्न समय, विभिन्न चरित्रको प्रतिनिधित्व गर्दै समाजमा भएका विभिन्न मुद्दालाई उजागर गरेर ती मुद्दाहरुले निम्त्याएको भावनात्मक असरलाई उजागर गरेका कथा मलाई मनपर्छ ।” 

    उपन्यास सार्वजनिक गर्दै हमालले साहित्यको गाह्रो विधा मानिने उपन्यासका घटनाक्रमको गजब समीक्षा गरे । त्यसबाट हलभरिका दर्शक र समीक्षकहरु पनि खुशी भए । ‘महानायक’ कार्यक्रममा आएर आफ्नो प्रशंसामा बोलिदिँदा हेम खुशी नहुने कुरै भएन ।

    सोच र दर्शनका कुरा

    वार्तालाप टुङ्ग्याउनुअघि यो पंक्तिकारको जिज्ञासा थियो – नयाँ पुस्ताको लय ठीक छैन भन्ने गुनासाहरु सुनिन्छन् । मौलिकता, संस्कृति, भूगोल इत्यादिका बारेमा कट्टर तर्कहरु आइरहेका छन् । अहिले नेपाली साहित्यको बजार कस्तो छ? यी विषयहरुलाई कसरी लिनुहुन्छ?

    हेम बोले, “फरक हिसाबले राम्रो गर्नसके सबैतिर राम्रै छ । के काम गर्ने भन्दापनि कसरी गर्ने भन्ने महत्त्वपूर्ण हो । युनिभर्सल भएर आइडेन्डीटी बनाउन सकिएन भने मान्छेले साँघुरिएर, निकै साँघुरिएर सोच्न थाल्दोरहेछ । सूर्यलाई नबुझ्दासम्म न हो, जुनकीरीलाई सूर्य मान्ने!
    हामीले सेक्सपियरलाई पढ्दा विदेशी हो भनेर कहिल्यै पढेनौं । देवकोटालाई बाहुन, भूपीलाई जनजाति भनेर पढेनौं । ग्लोबल आइडेन्डीटी बनाउनुपर्ने समयमा जाति, भूगोल र संस्कृतिमा मात्रै किन सिमित हुने?

    फरक हिसाबले राम्रो गर्नसके सबैतिर राम्रै छ । के काम गर्ने भन्दापनि कसरी गर्ने भन्ने महत्त्वपूर्ण हो ।

    देवकोटाकै पालामा पनि विकृति थिए होलान् । तर, अचेल हामी देवकोटालाई मात्रै सम्झिन्छौं । बर्खा सकिएपछि खोला सङ्लो हुन्छ । मेरो विचारमा यो समयको मूल्यांकन अहिल्यै गर्न सकिन्न । जहाँसम्म बजारको कुरा छ, युवाहरूको लगाव बढ्नु राम्रो हो । बजार बढ्दै छ । फैलिँदै छ । साहित्यकर्मले जीविका चल्ने अवस्था बन्‍नु राम्रो कुरा हो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस