कामरेडका कविता!

– भद्रगोल शर्मा
पाठकवृन्दलाई घरीघरी सम्झाइराख्नु पर्ने कुरो हैन, सत्ता चलाईरहेको र देश हाँकिरहेको दलमा दुईजना पाइलट कामरेडहरु हुनुहुन्छ । पाइलटहरुले सत्ता चलाएपछि बेलाबेला पार्टी र देशले ‘टेक अफ’ गर्ला कि जस्तो छाँट देखिने रहेछ । धर्तीमै रहेर राजनीति गर्नुपर्ने दलले ‘टेक अफ’ गर्यो भने के होला? यो प्रश्नले कार्यकर्ता बेलाबेलामा हैरान हुन्छन् । ‘टेक अफ’अघिका खल्बली र ‘वार्म अप’का अनेक दृश्य देखेर कार्यकर्ता कहिले रमाउने त कहिले पुर्पुरो समाउने गर्छन् ।
सरकार बनेको दुईवर्ष पुग्नै आँटेको छ । यसबीचमा दुईजना कवि कामरेडका एकएक कविता हिट भएका छन् । त्यसउसले औसत एक वर्षमा यौटा कविता हिट भएको छ । कविता लेखिने र हिट हुने कुरामा धेरै चिन्ता लिने काम छैन । तर, कविताकै कारण खैलाबैला मच्चिने र इन्जिन तातेर पार्टीले नै टेक अफ गर्ने अवस्था पो आइदेला कि भन्ने पीर-चिन्ताले हितैषीको सातो लिँदोरहेछ!
“अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो
धुम्बाराहीमा एउटा अभ्यास गरिँदै थियो
एक्कासि धुवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोका झैं फुट्यो…”
अघिल्लो साल चर्चाको चुलीमा पुगेको कविताको मजबुन यस्तो थियो -
“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र!
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ…”
अरुलाई सपना देखाउन सिपालु कामरेडले मरेपछि पनि सपना देख्न पाउने अभिलाषासहितको कविता सुनाएपछि लोक जुरुक्कै उठ्यो । सत्तापक्ष र प्रतिपक्षनिकट समीक्षक जुर्मुराए र भने, यो अनर्थ भयो । कामरेडले अरुलाई मात्रै सपना देखाउनुपर्छ, आफै सपना देख्न र सपना देख्ने कविता लेख्न मिल्दैन । कामरेडको कविता सुनेर समीक्षकहरुले यसो भन्दिएपछि सारा देशभरि कविता फैलियो । केही महिनासम्म हल्लाखोर भएपछि बल्ल कविताको चर्चा टुङ्गियो ।
यसपालि फेरि एक सालको अन्तरालमा अर्का कवि कामरेडको कविता चर्चामा छ । कविताको चर्चा देश विदेश फैलिएको छ । कामरेडले स्थायी समिति बैठकमा पढेको कविता झन् कडा पो रहेछ!
“अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो
धुम्बाराहीमा एउटा अभ्यास गरिँदै थियो
एक्कासि धुवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोका झैं फुट्यो…”
कवितामा प्रयोग गरिएका विम्ब, अलङ्कार, अनुप्रास देखेर सत्तापक्षी, प्रतिपक्षी दुवै कित्ताका विश्लेषक हैरान छन् । देश विदेशका अनेक घटनाको गुह्य पत्ता लगाउने सक्ने बुद्धिजीवी विश्लेषकले कामरेडको कविताले ठ्याक्कै यसो भन्न खोजेको हो भन्ने भेउ पाउन सकेका छैनन् ।
बालुवाटारदेखि खुमलटारसम्म धुम्बाराहीदेखि बज्रबाराहीसम्म कविताको तरङ्ग फैलिएको छ ।
बालुवाटारदेखि खुमलटारसम्म धुम्बाराहीदेखि बज्रबाराहीसम्म कविताको तरङ्ग फैलिएको छ । कविताको बारेमा चलेको दोहोरी झनै रोचक घोचक छ । अघिल्लो कविता पेश गर्नुहुने कवि कामरेडले यसपालिको कवितालाई नौलो कविता नाम दिनुभएको छ ।
कविताले मच्चिएको खैलाबैलासँगै फेरि दलले टेक अफ गरेर बादल छुने होकि भन्ने चिन्तासमेत बुझकीहरुले गर्न थालेका छन् । कवि कामरेडहरु, कविता, डबल पाइलटवाला दल आदिबारे गम खाँदै गर्दा भद्रगोल शर्माको निष्कर्ष भने अलि बेग्लै छ, कविताकै माम्लोमा टेक अफचाहिँ अलि नहोला कि!
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस