• जीवनशैली | Jiwanshaili
  • मुखियाको नाती’बजारमा


    सुखी थियो खुशी थियो मुखियाको नाती,
    गाउँ घरमा इज्जत थियो सबै भन्दामाथी
    मुखियाको नाती भन्दै सब्ले ठोक्थे सलाम
    हिजो हीरा थियो बरै आजभयो फलाम
    नखेल जुवा र तास, धनको नास जीवनको बनीबास

    समाजमा जुवातासको कुलतले धेरैको उठीबास लागेको पाउन सकिन्छ । पैसाजित्ने लोभमा तासको लतमा फसेपछि मानिस सहजै उम्कन सक्दैनन् । कोही जितेर मालमाल हुन्छन् त कोही घरबासै नरहने गरी पछारिन्छन् । तास खेल्ने धन सकिएपछि सम्पत्तिलाई समेत खालमा राख्नपछि पर्दैनन् । जुवातासकै कारण धन रित्याउँछन्, सम्पत्ति सिध्याउँछन् । सबै सकिएपछि कतिपयले मानसिक सुन्तुलन गुमाउछन् वा डिप्रेसनको शिकार बन्न पुग्छन् । चरम तनावका कारण कोही आत्महत्या गर्ने मनस्थितिमा समेत पुग्ने गर्छन् । जुवातासले सिर्जित गरेको कहालीलाग्दो परिस्थितिलाई कलाकार नकुल ढकालले ‘मुखियाको नाती’बोलको गीतमार्फत उजार गर्नुभएको छ । मुखियाको नाती जुवा, तासको लतमा फसेपछि भएभरको सम्पत्ति सक्छन् । अन्तिममा श्रीमतीलाई पनि तासको खालमा थाप्छन् र श्रीमती पनि गुमाउन पुग्छन् । त्यसपछि उनले मानसिक सन्तुलन गुमाउँछन्, बेवारिसे हुन्छन्, बाउआमा उनैको पिरले स्वर्गवास हुन्छन् । पसलमा पाउरोटी चोरर भाग्दै गर्दा उनलाई गाडीले ठक्कर दिन्छ र मुखियाको नातीको मृत्यु हुन्छ । गीतमा चर्चित गायक तथा सङ्गीतकार वसन्त थापा, नकुल ढकाल र अमृत विश्वकर्माले स्वर दिनुभएको छ । शव्द नकुल आफैले लेख्नु भएको छ भने लय धु्रव जिसीले सिर्जना गर्नुभएको छ । नकुलले नै मुखियाको नातीको भूमिकामा अभिनय गर्नुभएको छ । मुखियाको नातीको जुवा दैनिकी र जुवाले रित्तिएपछिको पीडादायी अवस्थाका बारेमा गाइनेका रुपमा चौतारोमा बसेर सुरवीर पण्डितले बेली विस्तार गर्नुहुन्छ । भिडियोमा दिपा पौडेल, रवी कार्की, अमित विश्वकर्मा, खेम केसी, माया गिरी, बुद्धि खनाल, राजु कुमालले अभिनय गर्नुभएको छ । गीतको सङ्गीत संयोजन र निर्देशन तारानाथ आचार्यले गर्नुभएको छ । डिजिटल स्टार रेकर्डिङले गीतलाई बजारमा ल्याएको छ । नखेल जुवा र तास धनको नास जीवनको बनिबास यो वर्षौ पहिलेदेखि सुन्दै आएको भाका हो । यसको सिर्जना पदमलक्ष्मी श्रेष्ठ, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक र हिरण्य भोजपुरेले गर्नुभएको थियो । पुरानो भाकाको केही अंशमा नयाँ भाका र शब्द थपेर गीतलाई नयाँपन दिइएको छ । गीत मर्मस्पर्शी बनाइएको छ । प्रायः माया, प्रेम र पञ्चेबाजाका गीत गाउने थापाले समाजलाई चेतना प्रदान गर्ने सन्देशमूलक गीत गाउन पाउँदा खुशी लागेको बताउनुभयो । आफैले सङ्गीत गरेर गीत गाउने थापाले यस पटक अरुको सङ्गीतमा गीत गाउनुभएको छ । “समाजमा विकृति विसङ्गतीका रुपमा रहेको जुवातासको अन्त्य गरी सभ्य समाज निर्माण गर्ने गीतको उद्देश्य हो”, उहाँ भन्नुहुन्छ, “नयाँ कथा वस्तुमा आधारित रहेकाले यो गीत धेरैको रोजाइ बन्ने विश्वास लिएका छौँ ।”


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस