• जीवनशैली | Jiwanshaili
  • कृति अंशः ‘ओइली झरेछ सयपत्री’


    घर-आँगनलाई ढकमक्क पार्दै

    झरी, वर्षात् र पर्वहरुमा फुल्दै मुस्कुराउँदै

    देउसी-भैलिनीका गीत गाउँदै

    माइतीसँग सुमधुर सम्बन्ध गाँस्ने सयपत्री

    गाउँ, बेसी, शहर अनि संस्कृतिमा फुल्ने सयपत्री

    कठै बिचरा !

    कुन पापीले बेचिदिएछ मरूभूमितिर

    समय साँझ हुँदै अँधेरीमा परिणत हुँदै थियो । पूर्णिमा, सरू, शर्मिला कोठामा घरी भलाकुसारी गर्दै त घरी एकापसमा अपरिचितजस्तै एकोहोरो भएर बसिरहेका थिए । यसै बखत हर्के पनि हातमा एउटा फाइल च्यापेर फटाफट कोठामा प्रवेश गर्‍यो ।

    ‘के छ तिमीहरुको हालखबर ? खानापिना भयो..?’ भित्र पस्दै हर्केले भन्यो ।

    ‘खाना दिउँसोकोचाहिँ खायौं  तर बेलुकीको खाएको छैन, रात धेरै परिसक्यो, अब खाने होला नि…!’ शर्मिलाले हर्केलाई भनिन् ।

    ‘ल त्यसो भए सबै सँगै खाना खाने है त ? म अर्डर पनि गरिहाल्छु…।’ सोही समय हर्केले फोन उठाएर काउन्टरमा कल गर्‍यो ।

    ‘हेलो काउन्टर हैन…?’ हर्केले फोनमा भन्यो ।

    ‘हाँ सर, क्या सेवा करुँ ?’ काउन्टरवालाले जवाफ दिइरहेको थियो ।

    ‘अँ भाइ, १६ नं कोठामे चार आदमीको काना भेजना जल्दी…।’ हर्केले खाना अर्डर गर्‍यो ।

    ‘सर क्याबिन मे आ सक्‍ता है क्या आप लोग ? खाना तो तयार है ना…।’ काउन्टरबाट जवाफ आइरहेको थियो ।

    ‘ओके, खाना तयार करो हम सब आएगेँ…।’ हर्केले भन्यो ।

    ‘ल हामी सबै तल क्याबिनमा जानुपर्ने रे खाना खान । अब तिमीहरु सबै तयारीमै होला । म पनि लुगा फेर्छु र आइहाल्छु…।’

    हर्के जुरुक्क उठेर आफ्नो कोठामा गयो । सरू, शर्मिला, पूर्णिमा आ-आफ्नो पहिरनका लुगा तनाकतुनुक मिलाउन थाले । केही समयपछि हर्के पनि आइपुग्यो र चारैजना क्याबिनतिर झरे । टेबलमा प्लेट, काँटा, चम्चा र गिलासमा कागजी फूल सजिएका थिए । त्यहाँको बेरा फुच्चे कचौरामा खानाको परिकार ल्याउँदै राख्दै थियो । सरू, शर्मिला, पूर्णिमा र हर्के क्रमशः टेबलको वरिपरि कुर्सीमा बसे अनि काँटा-चम्चा उठाएर खाना चप्काउन थाले ।

    ‘अँ, भन त! खाना कस्तो छ ? मिठो छ कि छैन भन्नुपर्‍यो नि, चुप लागेर खानुहुँदैन त…।’ हर्केले सोध्यो । सबै चुपचाप खाना खाइरहेका थिए ।

    ‘मिठो छ दाइ ।’ सरू, शर्मिला र पूर्णिमाले जवाफ दिए ।

    ‘अँ, ल ठीक छ । त्योभन्दा पनि अर्को खुशीको कुरा सुनिहाल, तिमीहरु तीनैजना पर्सि बेलुका इन्डियन एयरलाइन्सबाट दुबई हुँदै शर्मिला साउदी अरब अनि सरू र पूर्णिमाचाहिँ कुवेत जाँदैछौ है । आज सबै काम मिलाएर टिकट पनि लिएर आएको छु । सबै खुशी हैन त ?’ हर्केले भन्यो ।

    ‘खुशी नै छौं भन्नुपर्‍यो दाइ, धन्यवाद छ तपाईंलाई । तर खै, जाने बेला भएर होकि क्या हो अलिक डर लाग्दैछ’ पूर्णिमाले भनिन् ।

    ‘कुवेत पुगेपछि एयरपोर्टमा हाम्रै नेपाली साथीहरु लिन आउँछन् । केही अप्ठेरो हुँदैन । तिमीहरु डराउनै पर्दैन । त्यसपछि अफिसमै तिमीहरुलाई काम गर्ने घरको कुवेती बोलाएर पठाउँछन् । अनि त्यहाँ गएर घरमा मज्जाले काम गर्ने’, हर्केले सम्झायो ।

    ‘मलाई त डर लाग्दैछ दाइ । कस्तो ठाउँ, कस्ता मान्छे होलान् ?’ सरुले भय प्रकट गरिन् ।

    ‘मलाई पनि डर लागिरहेको छ । यदि केही भइहाल्यो भने हामी कसलाई सहयोग माग्न जाने होला ?’ शर्मिलाको मनमा पनि शङ्का र डर उब्जियो ।

    ‘हैन, यो सब तिमीहरुकले सोचिराख्नुपर्ने कुरा हैन । जहाँ तिमीहरु जाँदैछौ त्यहाँ काममा पठाउने हाम्रै नेपाली साथीहरुको अफिस छ । उनीहरुले तिमीहरुलाई काममा लाने मान्छेसँग पक्कापक्की कुरा गरेर मात्र पठाउँछन् । बरु जाँदाखेरि त्यहाँको अफिसको फोन नम्बर लान नभुल्नु । त्यस्तो केही भइहाले फोन गर्नु उनीहरुलाई’, हर्कले तीनैजनालाई सम्झाउँदै भन्यो ।

    ‘हुन्छ दाइ ! हामीहरु समस्यामा पर्‍यौं भने तपाईँले छिट्टै फर्काउनुपर्छ है ।’, सरुले केही सहानुभुति लिँदै भनिन् ।

    ‘तिमीहरु काम गर्न जाने हो त्यहाँ, नराम्रो केही हुँदैन । आफ्नो परिवार जस्तो माया गर्छन् । तिमीहरु काम गर्ने र पैसा कमाउने, पछि छुट्टी आउँदा यो हर्के दाइलाई पनि सम्झेर राम्रो घडी ल्याइदिने है ?’ हर्केले हाँसोमा टुङ्ग्याउँदै भन्यो ।

    गफैगफमा चारैजनाले खाना खाइसकेका थिए । शर्मिला मौन थिइन् । सायद एक्लै छुट्टै देश जानुपर्ने अवस्था र बद्रीको मायाले पनि होला । पूर्णिमा पहिला उठिन् छेवैको धारामा हातमुख धुन थालिन् । हर्के पनि पूर्णिमाको छेवैमा उभिरहेको थियो । हर्केलाई आज पनि अस्तिझैँ पूर्णिमासँग बसेर बियर पिउने र मिल्यो भने रमाइलो पनि गर्ने इच्छा पलाइरहेको थियो ।

    ‘पूर्णिमा, आजचाहिँ मेरै कोठामा बसेर बियर पिउने है ? म फुच्चेलाई बियर अर्डर गर्छु, अहिले नै आउनु है ।’, हर्केले पूर्णिमालाई भन्यो ।

    ‘अहँ दाइ, म त पिउँदिनँ । डर लाग्छ । कति छिटो रनफन भइहाल्ने रहेछ । अब त नपिउँ होला ।’, पूर्णिमाले अस्वीकार गर्दै भनिन् ।

    ‘अलिकति पिउनु नि, म एक्लै हुन्छु यसो साथ देउ न । आखिर तिमीहरु पर्सि गइहाल्छौ । धेरैपछि मात्र भेट होला ।’ हर्केले स्वार्थी स्नेह प्रकट गर्दै भन्यो ।

    ‘हुन्छ दाइ, आएर एकछिन बसिदिउँला न । तपाईं पिउनुहोस् न, म त डर लाग्छ ।’ फेरि पूर्णिमाले भनिन् ।

    वास्तवमा हर्के पूर्णिमाबाट त्यही शब्द सुन्न चाहन्थ्यो । जब पूर्णिमाले हुन्छ एकछिन आइदिन्छु भनिन्, हर्केको मनमा प्रशन्‍नता छायो । यदि पूर्णिमा मेरो कोठामा आई भने जसरी भएपनि अस्तिको अधुरो इरादा आज अवश्य पूरा गर्नेछु भन्ने सोच्दै काउन्टरमा गयो । बियर अर्डर गर्‍यो र कोठातर्फ लाग्यो ।

    क्याबिनमा खाना खाएपचि सरू, शर्मिला र पूर्णिमा कोठामा आएर टीभी हेर्दे बसिरहेका थिए । केहीबेरमै फुच्चेले हर्कको कोठामा चार-पाँच बोलत बियर र साथमा भुजुरी दालमोठ ल्याइदियो । हर्के अब पूर्णिमाको इन्तजारमा थियो, आजको रात जसरी पनि पूर्णिमालाई आफ्नो काखमा राख्‍न आतुर थियो ऊ ।

    यस्तो गर्नु उसको जीवनमा उसको पेशासँगै जोडिएको एउटा असभ्य दैनिकी थियो किनकि उसले पूर्णिमाजस्ता विदेशमा कमाई गर्न जाने कैयौं ठिटीहरुलाई आफ्नो शिकार बनाइसकेको थियो । अनि ऊ यसरी नै पूर्णिमाको जीवन र जवानीसँग पनि खेल्न चाहन्थ्यो ।

    पूर्णिमाको फर्स्याइलो बोली र हँसिलो र मुहारमा हर्केलाई दिलचस्पी लागिरहेको थियो । पुष्ट शरीरका रसिला अङ्ग र भरिलो छातीले मात लागिरहेको थियो । अस्ति बियरको नशाले आलस्य भई आफ्नो शरीरको पहिरनको पर्वाह नगरी सुतेकी पूर्णिमालाई हर्केले बियरकै नशामा देखेको थियो । जसले उसलाई लोभ्याएको थियो ।

    केहीबेर सम्मको पर्खाइमा पनि पूर्णिमा नआएपछि ऊ आफै जुरुक्क उठेर पूर्णिमाको कोठातिर लाग्यो । सरू, शर्मिला र पूर्णिमा हिन्दी च्यानलमा आइरहेको टेलिशृङ्खला हेर्न मस्त थिए । जवानीसँगै फक्रँदै गरेका यी तीन किशोरीहरुमध्ये हर्कको प्यासी नजर पूर्णिमाप्रति केन्द्रित थियो । सँगै बसेका साथीहरुबीचबाट उसले पूर्णिमालाई मात्र आफ्नो कोठामा बोलाउनु उचित मानेन र तीनै जनालाई बोलाउने चेष्टा गर्‍यो । ‘पूर्णिमा, ए पूर्णिमा ! ल सरु, शर्मिला सबै मेरो कोठामा आऊ त । अब तिमीहरु जाने पक्का भयो, यसो कागजपत्र चेक गरौं । हर्केले मनभरी जाल बुनेर कागजपत्र चेक गर्ने बहानामा तीनै जनालाई बोलायो ।

    (आफ्नो जीवनको लामो कालखण्ड खाडीमा खर्चिएका बालक गुरुङले नजिकबाट नियालेको खाडीको परिवेश र खासगरी प्रवासमा पसिना बगाउने क्रममा शोषणमा परेका नेपाली चेलीहरुको भोगाइमा केन्द्रित रहेर लेखेको उपन्यास ‘ओइली झरेछ सयपत्री’को एक अंश । उपन्यासमा गाउँमा हुँदाखेरि खाडीको सपना देख्‍ने र खाडीसम्मको यात्रापछि त्यहाँ भोग्‍नुपर्ने दुःख-दर्दलाई मुख्य विषय बनाइएको छ ।)


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस