• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के भए ?


    विश्वव्यापी चिन्ता र खतरा रहेको प्राण घातक कोरोना भाइरसका कारण विश्वका ३७ देश प्रभावित भईसकेको छ । यस महामारीबाट हुन सक्ने खतरालाई मध्य नजर गर्दै विश्वब्यापी सर्तकता समेत अपनाउन थालिसकेका छन् । पछिल्लो समयमा चीनमा भन्दा पनि चीन बाहिर कोरोनाको संक्रमण तिब्रगतिमा फैलिँदै गएको अवस्था छ ।

    चीनमा थप ७१ जनाको मृत्यु
    चीनमा सोमबार फेव्रुअरी २४ तारिखमा कोरोना भाइरसका कारण थप ७१ जनाको ज्यान गएको छ । भने ५ सय ९ जना नयाँ संक्रमित थपिएको छ । यो संगै चीनमा ७७ हजार ६सय ५८ जना ब्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । सोमबार सम्म चीनमा मात्रै ११ हजार ४ सय ७७ जना विरामी गम्भीर अवस्थामा रहेको बताइएको छ । यस्तै २७ हजार ३ सय ३४ जना बिरामी उपचार पछि घर फर्किसकेका छन् ।

    दक्षिण कोरीयामा ८सय ९३ जना संक्रमित
    दक्षिण कोरीयामा कोरोना भाइरसबाट संक्रमित हुनेका संख्या ८सय ९३ पुगेकाे छ । सोमबार मात्रै ६० जना संक्रमित विरामी थपिएका छन् । सोमबार थप २ जनाको ज्यान गए पछि दक्षिण कोरीयामा यस भाइरसका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् ।यस्तै २२ जना विरामी निको भएर घर फर्किसकेका छन् भने ६ जना विरामी गम्भीर रहेको बताईएको छ ।

    इटालीमा मृत्यु हुनेकाे संख्या ७ पुग्याे

    इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा सात जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । साेमबार थप ७२ जनामा काेराेनाभाइरसकाे संक्रमण देखिएकाे छ । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन् । लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन । स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् । कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन् ।

    ओमान ,अफगानिस्तान,बहराइन र कुवेतमा पनि काेराेना फैलियाे

    सोमबार ओमान र बहराइनमा दुइ -दुइ जना र कुवेतमा पाँच जनामा सङ्क्रमण भएको पाइएको हो । इरानबाट आएका एक बहराइनी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले बताएको छ। । यस्तै कुवेतमा ५३ वर्षीय एक कुवेती र ६१ वर्षीय साउदी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण सकारात्मक देखिएको अल अरेबियाले बताएको छ । अर्का एक व्यक्तिको पहिचान भई नसकेको बतार्ईएको छ । यस्तै अफगानिस्तानमा पनि एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धत गर्दै रोइटरसले उल्लेख गरेको छ।

    अन्यमुलुकमा यस्ताे

    जापानमा कोरोना भाइरसका थप १३ जना संक्रमित भेटिएका छन् । सिंगापुरमा थप एक जना संक्रमित थपिएका छन् । यस्तै हंङकङमा ७ र अमेरिकामा १८ जना विरामी थपिएका छन् । ताइवानमा २ जना, क्यानडा र स्पेनमा थप एक जना संक्रमित भएका छन् ।

    नयाँ घटना निकै चिन्ताजनकः विश्व स्वास्थ्य सङ्गठन

    डब्लूएचओका प्रमुखले सोमवार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना निकै चिन्ताजनक रहेको बताएका छन्।उनले भने यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छ? पक्कै पनि छ। तर के हामी त्यहाँ पुगि सक्यौ? हाम्रो मूल्याङ्कनले भन्छ हालसम्म त्यस्तो भएको देखा परेको छैन।विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई प्यान्डेमिकु वा विश्वव्यापी महामारी भनिन्छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस