शहरका भरियाका दु:ख; खान माम छैन, बस्न ठाम छैन
सुनसान सडक छ । बाटोभरी प्रहरी छन् । फाट्ट फुट्ट एम्बुलेन्स, पानीको ट्याङकर, प्रहरीको भ्यान हिडिरहेका छन् । अघि पछि लाखौँ मानिसहरु को चहलपहल हुने न्युरोड सुनसान छ ।
न्युरोडभित्र संकटा, टेवहाल भन्ने ठाउँ छ । बाहिर काठमाण्डौको मुटु न्युरोड तर त्यसको भित्र अध्यारो गल्ली, पुरानो माटोको घर । भित्र पसे पछि अध्यारो काठको भर्याङ चढेपछि सानो कोठा आउँछ । त्यही एउटा कोठामा एउटा पुरै परिवार बसेको छ । भुईमा ओछ्यान छ । केहि सामान पानीको बाल्टीन, केहि भाँडाकुँडा, प्लास्टिक भित्र आधि किलो दाल र ५ किलो जति चामल देखिन्छ । भित्ताको किलामा भारी बोक्ने नाम्लो झुण्डिरहेको छ । विगत २१ दिन देखि त्यही एक कोठामा पाँच जनाको परिवार बसेका छन् ।
साँघुरो कोठामा बसेका यी भरियाले कसरी सामाजिक दुरी पालना गर्ने । बरु उनीहरुलाई उनीहरुको आफ्नै ठाउँमा पठाउन सके सामाजिक दुरी देखि खाने अनि बस्ने समस्या पनि समाधान हुनसक्थ्यो ।
सिन्धुली साविकको तोश्राम खोला घर भएका ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका बेदराज अधिकारी विसौँ बर्ष देखि भरिया हुन् । कुनै बेला उनको चर्चा पनि थियो समाजमा । उनको फेटो पत्रपत्रिकामा पनि छापिएको थियो । उनी भरीयाहरुको संगठनको नेता थिए । सन् २०११ को आईसीटी इन्फो ट्रेड फेयरको उद्घाटन समेत बेदराजले गरेका थिए ।
परिवारको जिम्मेवारी, अशिक्षाको कारण रोजगारी नपाउनु तथा गाउँमा खान नपुगेपछि शहर छिरेका उनी विगत २१ दिन देखि उही अध्यारो कोठामा परिवार सहित बसेका छन् ।
सरकारले कोरोना भाइरसको जोखिम न्युनिकरण का लागि भन्दै गरेको लकडाउन यता उनी कोठा बाट बाहिर निस्केका छैनन् । दैनिक चोकको चहलपहल, केही काम अनि केही रकम कमाएर परिवारको हात मुख जोर्ने गर्दै आएका उनले २१ दिन देखि दाल र भात खाएर बसिरहेका छन् ।
‘काम गरीरहेका थियौँ । विदेश तिर महामारी आएको र नेपालमा आउन सक्ने भन्ने सुनेको हो, तर काम नै बन्द भएर रोजीरोटी टार्न पनि यती धेरै गाह्रो हुन सक्नेबारेमा थाहा थिएन् । सरकारले बेलुका एक्कासी बन्द गर्यो भन्ने सुने पछि बेलुका गोजीमा भएको १ हजार रुपैँयाले ५ किलो चामल र अलिकति दाल त किने त्यस पछि पैसा सकियो। आज कमाएर आजै खानु पर्ने हामीलाई के थाहा भोली पल्ट देखिनै बन्द हुन्छ भनेर । न त गोजीमा पैसा छ न त खान लाई चामल दाल, बाहिर निस्किउँ प्रहरीले लखेटिहाल्छ । अझै थुन्छ पनि रे ननिस्किउँ दाल चामल सकिइ सक्यो । काम त कहाँ हो कहाँ खानको लागि जोहो पनि नहुँदा भोकभोकै मर्नु पर्ने अवस्था आउनेभो ।’ अधिकारी भन्छन् ।
‘काम गरीरहेका थियौँ । विदेश तिर महामारी आएको र नेपालमा आउन सक्ने भन्ने सुनेको हो, तर काम नै बन्द भएर रोजीरोटी टार्न पनि यती धेरै गाह्रो हुन सक्नेबारेमा थाहा थिएन् ।
‘सरकारले के गर्ने खोजेको हो । न त घर जान पाईयो न त यहाँ बस्ननै सकिने भयो । यस्तै अवस्था रह्यो भने त भोक भोकै मर्नुको विकल्प नभएको छैन, उनी थप्छन् ‘हामी मात्रै होईन यहाँ गल्लीमा हामी जस्तै १५ देखि २० परिवारको अवस्था यस्तै छ । कोही परिवार सहित छन् त कोहि साथीहरुसँग बसेका छन् । सबैको अवस्था उहि छ । के गर्ने के नगर्ने सोच्न सकेका छैनौँ। अब सरकारको बाटो हेरेका छौँ । हामी जाने ठाउँ कहिँ छैन् । सहयोग गर्न पनि कोहि आएका छैनन् । हाम्रो विचल्लि भएको छ ।’
यस्तै अवस्था रह्यो भने त भोक भोकै मर्नुको विकल्प नभएको छैन,
सिन्धुलीका बेदराज अधिकारी जस्तै सिन्धुली हतपते दुधौली नपा १ का ३५ वर्षीय खगेन्द्र नेपाली पानी भारी बोक्ने कार्य गर्दै आएका छन् । उनी पनि पाँच जनाको परिवार सहित बस्दै आएका छन् । उनीहरू जस्तै काभ्रेको गोकुलेश्बर न पा श्याम लामा पनि परिवारको पनि उस्तै हाल छ । सरकारले एक्कासि लकडाउन गरे पछि न काम छ न खानलाई राशन । गाउँ जाऊँ भने बाहिर त निस्कन पाएको छैन कसरी जानु ।
यस्तै सिन्धुलीकै उद्धव नेपाली २ छोरी सहित ५ जनाको परिवारको पनि बिचल्ली भएको छ । यस्तै सिन्धुलीकै तीनपाटन ४ का ३५ वर्षीय हस्त ब नेपाली, २७ वर्षीय कुमार नेपाली, रमेश नेपाली ७ जना परिवार सहित बस्दै आएका छन् । उनीहरू जस्तै ३० वर्षीय विनोद नेपाली २४ वर्षीय छविलाल नेपालीको पनि स्थिति बेहाल रहेको छ ।
कोरेना नियन्त्रणमा सामाजिक दुरी नकै महत्वपूर्ण हुन्छ । तर साँघुरो कोठामा बसेका यी भरियाले कसरी सामाजिक दुरी पालना गर्ने । बरु उनीहरुलाई उनीहरुको आफ्नै ठाउँमा पठाउन सके सामाजिक दुरी देखि खाने अनि बस्ने समस्या पनि समाधान हुनसक्थ्यो ।
न्यूराेड आसपास रहेका भरीयाहरुकाे सुची
क्याटेगोरी : कोरोना अपडेट
प्रतिक्रिया दिनुहोस