• जीवनशैली | Jiwanshaili
  • कृति अंशः ‘तृषा’


    चोखो दूबो, चोखो फूल, चोखो पानी, अक्षता, नैवेद्य, खाना, वस्त्र, घर, कन्या सबै चोखो  खोज्छ मान्छे । कति अचम्मको छ मान्छे अनि यसले बनाएको नियम र चलन । हरेक कुरा चोखो खोज्ने मानिसले आफू कति चोखो छु भनेर विश्लेषण गर्ला कि नगर्ला? मान्छे र मान्छेका कर्म दिन प्रतिदिन जुठिएका छन् । आफ्नो जुठोपन छोप्न वस्तु चोख्याउने नाटक गरिरहन्छ मान्छे । आफ्नो जुठोपन छोप्नलाई आफूभन्दा  कमजोरमाथि हैकम जमाउनलाई मान्छे अभिनय गरिरहन्छ जुठो चोखोको, पाप धर्मको । यहाँ मान्छे कर्म, बोली र  व्यवहारको जुठो लुकाउन तल्लीन  छ । किन हेर्दैन मान्छे आफ्नो कर्म चोखो छ कि छैन भनेर? किन बुझ्न जरुरी ठान्दैन आफ्नो व्यवहारले मानवीय आस्थामा खलल पुगेको छ कि छैन भन्ने? 

    जीवन विजयी मुस्कानका साथ उठ्यो र सोफामा गएर बस्यो । भित्तामा झुन्डिएको प्रमोद अनि प्रमिलाको तस्विरमा भय र विस्मयका आँखाले हेर्‍यो । एकपल्ट झस्क्यो । प्रमोदका आँखाले उसलाई  पक्कै आज घरफोरको अपराधी सावित गर्‍यो । उसले प्रमोदसङ्ग आँखा जुधाइरहन सकेन । तुरुन्तै प्रमिलाको आँखामा हेर्‍यो । अलिकति लज्जाबोध, धेरै तृप्ति, थोरै ग्लानि मिश्रण भएको पायो ।

    यदि यो द्वन्द्व हो भने आज एउटा पर्खाल भत्कियो । त्यसको भग्नावशेषले पहिले प्रमोदको विश्वासलाई पुर्यो । प्रमिलाको मनले आफू सुरक्षित  देखेकी भए कुन्नि, परिवेशले भने उसको गृहस्थीमा छारो उडायो । यदि यो युद्ध हो भने यसमा कसले जित्यो, कसले हार्‍यो? त्यसको मूल्यांकन समयले गर्ला कि? तर एउटा दूरी र द्वन्द्वको समापनचाहिँ भयो । परिणाम भोलिका दिनले बताउलान । यदि खेद र आत्माग्लानि कतै छ भने पोल्छ या पोल्दैन भविष्यका कुरा भए । आजलाई मर्यादा  र संस्कारको दोहन गर्न समय सफल भयो । त्यसलाई धन्यवाद भन्ने कि घृणा? प्रमिला स्थिर भई ।

    जीवन चुपचाप सुतिरहेको छ सोफामा । आनन्द मानेर हो कि आत्मतृप्तिले हो, उही जानोस् । केहीबेरमा जीवन जुरुक्क  उठ्यो । न औपचारिकता न धन्यवाद । मुस्कानसम्म दियो । प्रमिलाको पाखुरा समाएर धाप मार्दै, म गए है त? भन्दै बाहिरियो । यो उसको व्यङ्ग्य हो कि प्रेम? त्यसको भेद प्रमिलाले बुझ्ली । शिकारी आफ्नो बाटो लाग्यो । प्रमिलाले आज शरीर मात्र दुखाई कि स्वाभिमान पनि गुमाई?

    जहाँ दुईतर्फी प्रेम हुन्छ त्यहाँ माया नै सबैभन्दा ठूलो कुरा हुन्छ । त्यसमा समान समर्पण र त्याग हुन्छ । ती काम गर्दा खुसी पनि  लाग्छ । जहाँ माया नै छैन भने त्यहाँ कर गरेर, रोएर, कराएर जबरजस्तीको सम्बन्ध बनाइराख्‍नुको के अर्थ? यो सब महिलाको मानसिकताको कुरा हो । श्रीमानसङ्गै मन्दिर जाने, माइत जाने, मेलापात  जाने, श्रीमानले ल्याइदिएको चुरापोते लगाएर उसकै लागि राम्री हुने, व्रत बस्ने मात्र नारीधर्म हो र? काँधमा काँध मिलाई समान अस्तित्व र स्वाभिमानका लागि अघि बढ्नु पो हो असलमा प्रेम । श्रीमानको भक्त भएर पाएको कुरालाई हामी माया सम्झन्छौ तर यो वास्तवमै माया हैन । यी सब चीज त नारीका परनिर्भरताका नेल हुन् । नारीको यही कमजोरीका कारण समाजले संस्कार बनाएर महिलालाई दासी बनाउन सफल भएको हो ।

    मन र जीवनबीच कति फरक छ । सँगसँगै हिँड्ने सहयात्री भए पनि जिन्दगी अनि मनबीच कति धेरै अन्तरविरोध छन् । यो संसारमा कहीँकतै कुनै समयकालमा मन र जीवन एउटै बिन्दुमा पुगेर समाहित होलान्  त? खै कहिले यसरी तालमेल मिल्ला र?  मन एउटा अपूर्ण अवस्था तर जीवनचाहिँ भोग्नैपर्ने बाध्यता । भोगाइ  र सोचाइको मिलन संसारमा असम्भव हुने रहेछ । मनको जीवन र भोगिरहेको जीवन तुलना गर्न पुग्छे ऊ । कहिले हुने होला है यी दुवैको मेल?  उसलाई असम्भव लाग्छन् सबैसबै ।

    यतिबेला ऊ जीवन र प्रमोदबीच तुलना गर्न पुग्छे । प्रमोद कस्तो निष्ठुरी मान्छे होला? घर ढिलो आउँदा पनि माफी मागिसिन्न, सरी पनि भनिसिन्न । जीवन भएको भए ऊसँग ढिलो भएकोमा सरी भन्दै जुरुक्क  बोकेर माथी लान्थ्यो होला । काखमा राखेर माया गर्दै भन्थ्यो होला, तिमीलाई दिनभरि देख्न नपाउँदा मेरो  मन कति आत्तिएको थियो । अहिले तिमीलाई मेरो काखमा पाउँदा साँच्चै स्वर्ग नै पाएको जस्तो भएको छ । यस्तैयस्तै कति मायालु कुरा गर्थ्यो होला । आफ्नो मान्छे भने केही चाहना नै नभएको । न माया खोज्न जान्नु छ न गर्नु छ । घरको दैनिक काम त अरुले पनि गर्दिन सक्छन् तर समीपता र आलिङ्गन सबैबाट कहाँ पाइन्छ?

    ‘प्रमिला कता हरायौ? माथि आउन यत्रोबेर लाग्छ?’ प्रमोदको आवाजले प्रमिला झस्की । आफ्ना सोचाइलाई तिलाञजली दिँदै भर्‍याङ चढी ।

    ‘खाना तयार गर, भोक लागेको छ ।’ प्रमोदले बाथरुम छिर्दै भन्यो ।

    ‘हस्।’  प्रमिलाले उत्तर फर्काई ।

    (गीतकार संघ नेपालको सचिवसमेत रहेकी साहित्यकार पौडेलको उपन्यास कृति ‘तृषा’को अंश)


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस