मजदूरको उद्धारमा सक्रिय बन्दै स्थानीय तह
प्यूठान, ८ वैशाख / मुलुकका विभिन्न जिल्लाबाट पैदलै घर फर्किदै गरेका मजदूरलाई प्यूठानका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने काम गरेका छन् ।
बाहिरी जिल्लाबाट स्थानीय तहले सीमामा राखिएको हेल्पडेस्कसम्म ल्याएर छोड्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहको सहकार्यमा सीमापार गराउने गरिएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयोे । बन्दाबन्दीको समयमा आधा बाटोबाट भए पनि घर जान पाएपछि पैदलयात्रु खुशी भएका छन् ।
काठमाडौँ, गुल्मी, कास्की, धादिङ, पर्वत, बाग्लुङलगायतका जिल्लामा खानेपानी, पुल, मोटरबाटो, भवन निर्माणलगायतका योजनामा काम गर्ने मजदूरहरु बन्दाबन्दी लम्बिएर कामविहीन भएपछि लामो दूरीको कष्टकर पैदल यात्रा गरी धमाधम घर फर्किन थालेका हुन् ।
पैदलयात्राबाटै बीचबाटोसम्म आइपुगेकालाई गुल्मी, बाग्लुङ, प्यूठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदूरको घरसम्म पु¥याउने काम भएको छ । प्यूठान नगरपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाको समन्वयमा सयौँ पैदलयात्रीको उद्धार गरी खाना खुवाएर सम्बन्धित स्थानसम्म पु¥याइएको प्यूठान नगरपालिकाका नगर प्रमुख कक्षपतिले बताउनुभयो । स्थानीय तहले समन्वय गरी उद्धार गर्न थालेपछि मजदूर हर्षित बनेका छन् । लामोदूरीको यात्राले थाकेको अवस्थामा पेटभरि खाएर घर जान पाउँदा दुःख बिर्सिएको बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका– ९ बनगाईकी ३० वर्षीया सीता सार्कीले बताउनुभयो । बाग्लुङको जैमुनी नगरपालिका–३ रामखोलाको सडकमा जाली भर्ने काम गर्ने २५ जनाको समूह थियो । सडक मर्मतको काम गर्दै आएका मजदूर बन्दाबन्दीपश्चात कामविहीन हुनुप¥यो ।
वाग्लुङबाट गुल्मी, प्यूठान, दाङ, बाँके हुँदै बर्दिया पुग्ने तयारीमा करिब तीन दिन पैदल हिँडेर गुल्मीको रेसुङगा नगरपालिकामा आएका मजदूरलाई रेसुङ्गा नगरपालिकाले प्यूठान नगरपालिकासँग समन्वय गरी पठाएको थियो । पर्वत र गुल्मी हुँदै आएका १६ जना मजदूर पनि सजिलै घर जान पाएपछि खुशी देखिन्थे । ३ गते बन्दाबन्दी सकिने र काम पाइने आशामा रहेका मजदूर बन्दाबन्दीको समय थप भएपछि घर फर्किनुको विकल्प नभएको प्यूठान नगरपालिका– ६ माझकोटका नारायणबहादुर पुनले बताउनुभयो । “धेरै पीडा भोगेर धन्न आइपुग्यौँ”, उहाँले भन्नुभयो, “पानी मागेर खान खोज्दा खान दिनु त के छुनसमेत बन्देज गरियो ।”
गण्डकी प्रदेशको पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा खानेपानी निर्माण योजनामा १९ जना मजदूर कार्यरत थिए । तीन जना बन्दाबन्दी हुनुअगावै फर्किए पनि १६ जना भने ३ गते बिहानै विहादीबाट हिँडेका थिए । अन्य जिल्लाबाट प्यूठानसम्म आएका पैदलयात्रीलाई गन्तब्यसम्म पु¥याउन स्थानीय तहले सक्रियता देखाएको प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनुभयो ।
क्याटेगोरी : समाज
प्रतिक्रिया दिनुहोस