• जीवनशैली | Jiwanshaili
  • मिर्गौलापीडित पत्रकार पाल्पालीद्वारा सहयोगको आग्रह


    भक्तपुर, १९ वैशाख  /औषधि र खाद्यान्नको अभावले मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक सङ्कटमा परेको छ । शुरुदेखि नै आर्थिक सङ्कट झेल्दै आएका पाल्पालीको परिवारलाई कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले थप समस्यामा पारेको हो ।

    यसअघि दैनिक काममा गएर जसोतसो समस्या टार्दै आएकी पाल्पालीका पत्नी रेणुका भट्टराई अहिले काममासमेत जान नपाउँदा पत्रकार पाल्पालीको उपचारमा आर्थिक सङ्कट पर्नुका साथै घरमा खाद्यान्नको समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “शुरुदेखि नै समस्या झेल्दै आएको सबैलाई थाहै छ । अहिले त लकडाउनले थप समस्या पारेको छ । श्रीमान्को लागि दैनिक आवश्यक पर्ने औषधिसमेत छैन । न खानेकुरा नै छ । एकातिर श्रीमान्लाई औषधि खुवाउन नपाउनुको पीडा, अर्को खाद्यान्न नहुँदाको पीडा । त्यसमाथि पनि आफँै मधुमेहको रोगी भइयो । श्रीमान्लाई कसरी बचाउँनुजस्तो भयो ।”

    लकडाउन अघिसम्म आफूले जसोतसो पाल्पालीको उपचार र घर खर्च जुटाउँदै आए पनि लकडाउन लम्बिएपछि औषधि पनि सकिएको र खर्च पनि सकिएको सकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी निकै सङ्कटमा परेका छौँ । कसरी औषधि ल्याउने, कसरी बालबच्चा पाल्ने, पढाउने, पत्रकार तथा साहित्यकार पाल्पालीको जीवनरक्षाका लागि सहयोग गरिदिन म आह्वान गर्दछु ।”

    नेपाल बोर्डर साप्ताहिकका प्रकाशक तथा सम्पादकसमेत रहनुभएका पत्रकार तथा साहित्यकार पाल्पाली विसं २०७० मा दुवै मिर्गौला फेल भएपछि थलिनुभएको थियो । काठमाडौँको महाराजगञ्जमा उपचार सम्भव नभएपछि उहाँलाई भारत लगेर मेदान्त अस्पतालमा उपचार गराउँदा नै मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको थियो । आफूले मिर्गौला दिन तयार भए पनि मधुमेह भएको थाहा पाएपछि नमिलेको पाल्पालीकी पत्नी भट्टराई बताउनुहुन्छ ।

    एक छोरी र एक छोराका पिता ४५ वर्षीय पाल्पालीको पुख्र्यौली घर पाल्पाको विकट सोमादी–२ छहरा भए पनि अध्ययनको सिलसिलमा काठमाडौँ आएर सञ्चारकर्मी तथा साहित्यकार काभ्रेकी भट्टराईसँग विवाह गर्नुभएको थियो । जस्ताकै टहराको एउटा कोठाको खाट नै अहिले पत्रकार पाल्पालीको संसार भएको छ । मिर्गौलाको उपचार गर्दागर्दै कम्मरको हड्डी खिइएपछि चिकित्सकले पाल्पालीको कम्मरको हड्डीसमेत प्रत्यारोपण गर्नुपर्ने बताएपछि थप समस्या रहेको श्रीमती भट्टराई बताउनुहुन्छ । मिर्गौला फेर्न नसकिएको बेलामा कम्मरको हड्डी प्रत्यारोपण गर्ने कुरा त टाढा भइसक्यो उहाँका लागि ।

    कानुनमा स्नातक गरेर अधिवक्ताको कामसमेत गरेका पाल्पालीको मिर्गौला रोगबाट थलिएपछि आर्थिक समस्या झेल्दै आएको छ । भारत पुगेर उपचारपछि नेपाल आएको पाल्पालीको परिवार विसं २०७२ को भूकम्पसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा जग्गा भाडामा लिएर त्यही जग्गामा जस्ताको टहरा बनाएर अहिले पाल्पालीको घरपरिवार बस्दै आएको छ ।

    एकातिर श्रीमान्को मिर्गौला र कम्मरको हड्डीको समस्या अर्कोतर्फ आफ्नो मधुमेह नियन्त्रण बाहिर गएर इन्सुलिन लिनुपर्ने अवस्था त्यसमाथि पनि दुई छोराछोरीको जिम्मेवारी, समस्यै समस्याले थलिएको पीडा पोख्नुहुन्छ उहाँ । आँखाभरि आँशु पार्दै भट्टराई भन्नुहुन्छ, “छोराछोरीको कलिलो अनुहारले आशा जगाएको छ । आत्मबल बढाएर हिँडिरहेकी छु तर पनि यसरी पाल्पालीको जीवन कहिलेसम्म टिकाउने रु आफ्नो जीवन नै कहिले ढल्ने हो कि भन्ने चिन्ताले सधैँ मन कटकटी खाने गर्छ ।”

    पाल्पालीलाई अहिले सातामा तीन दिन डाइलोसिस गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार सिएपीडी विधिअनुसार उहाँको जस्ताको टहरामै डाइलासिस हुँदै आएको छ तर लकडाउनको कारण सिएपीडी डाइलासिस गर्ने औषधि अभाव भएकाले समस्या थपिएको भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार पाल्पालीको उपचार तथा पोषण र घर व्यवहार धान्न मासिक रु २२ हजार खर्च हुँदै आएको बताउँदै उहाँले ऋणमाथि ऋण थपिँदै जाँदा ऋण र रोगले नै परिवार नै सङ्कटमा परेको बताउनुहुन्छ ।

    उहाँले यसअघि पनि सहयोग गरेको सम्झँदै भन्नुभयो, “म सबै पत्रकारदेखि दातासम्मलाई आग्रह गर्दछु, पत्रकार पाल्पाली जीवनमरणको दोसाँधमा छन् । छोराछोरी भोकै बस्नुपर्ने अवस्था आएको छ । पत्रकार पाल्पाली र उनका घरपरिवारको जीवनरक्षाका लागि सहयोग गरिदिनुस् ।” पत्रकार तथा साहित्यकार पनि देशका गहना हुन् उनीहरुको समस्याका लागि पनि सरकारको दायित्व हुन्छ भन्ने बुझेर सरकारले उनीहरुका उपचारको व्यवस्था गरिदिनुपर्ने पत्रकारहरु बताउँछन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस