• जीवनशैली | Jiwanshaili
  • बंगलादेशस्थित विश्वकै ठूलो रोहिंग्या शरणार्थी शिविरमा कोरोना ,अवस्था भयावह हुनसक्ने चेतावनी


    बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरस प्रवेश गरेको छ । विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर मानिएको त्यहाँका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्ने दुई रोहिंग्यामा संक्रमण पुष्टि भएपछि चिन्ता थपिएको छ । यो शिविरमा म्यानमारमा भएको हिंसाबाट जोगिनका लागि भागेर आएका करिब १० लाख रोहिंग्या बस्दै आएका छन् ।

    संक्रमण पुष्टि भएका दुई रोहिंग्यालाई आइसोलेशनमा राखेर उपचार थालिएको बिबिसीले जनाएको छ । शिविरका करिब १९ सय शरणार्थीलाई आइसोलेशनमा राखिएको छ भने उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण हुने छ ।

    रोहिंग्या शिविर मार्च १४ देखि लकडाउनमा छ । शिविरमा कोरोना भाइरसको संक्रमण फैलिएमा भयावह हुनसक्नेमा चिन्ता जताइएको छ । कक्स बजारस्थित शिविरका साँघुरा टहरामा स्वच्छ पानीको पहुँच समेत नभएको बताइएको छ ।

    बंगलादेशस्थित सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा. शमिम जाहनले विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्तीमा भाइरसको प्रवेश गरेकाले यसबाट हजारौँ व्यक्तिको ज्यान जोखिम रहेको बताए ।

    यो शिविरमा प्रति एक वर्गकिलोमिटरमा ४० हजारदेखि ७० हजार शरणार्थी बस्न बाध्य भएकाले त्यहाँ सामाजिक दूरी कायम गर्नसमेत गाह्रो हुने चेतावनी दिइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस