भाेली असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।
सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।
उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए । ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
२१ गतेपछि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आफूहरूले २१ गतेसम्म आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । कोरोना भाइरसको सावधानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरेपछि सडकमै आउनु परेको उहाँको भनाइ छ ।
उपाध्यक्ष तामाङ भन्नुहुन्छ, तीन महिनादेखि काम गर्न नपाउँदा हामी समस्यामा परियो, काम गरेको छैन तर बैङ्कले त हामीलाई छोड्दैन, कहाँबाट किस्ता तिर्ने, परिवार कसरी पाल्ने सरकारले हामीलाई केही राहत दिएको छैन, काम गरेर खान त पाउनु प¥यो नि, सडकमा गाडी गु्डिरहेका छन्, ट्याक्सीले मात्रै कोरोना सार्ने हो र ?
सरकारले निजी गाडी चल्न दिएर ट्याक्सीलाई मात्र रोकेर कोरोना नियन्त्रण नहुने व्यवसायीको भनाइ छ । तामाङ भन्नुहुन्छ, सार्वजनिक सवारी व्यवसायी निकै समस्यामा परे तर सरकारले कुनै सुनुवाइ नगर्दा थप पीडामा छौँ हामी । चारपाङ्ग्रे साना गाडी चलाउने तर ट्याक्सीलाई रोक्दा आफूहरू अन्यायमा परेको व्यवसायीको गुनासो छ ।
जोर–बिजोर प्रणाली अनुसार ट्याक्सी चलाउन दिए पनि आफूहरूलाई सहज हुने तामाङको भनाइ छ । स्वास्थ्य सावधानी अपनाएर ट्याक्सी चलाउन दिनुपर्ने व्यसायीको माग छ । उपत्यकामा झन्डै १२ हजार ट्याक्सी सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले भने ट्याक्सी सञ्चालन गर्ने नगर्ने निर्णय आफूले गर्न नसक्ने बताउँदै आएको छ । आजको गोरखापत्र दैनिकबाट
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस