• जीवनशैली | Jiwanshaili
  • गुम्बा संरक्षणमा जुट्न पर्यटनमन्त्रीको निर्देशन



    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संस्कृतिको प्रवद्र्धनमा गुम्बाको महत्वपूर्ण भूमिका रहेको हुँदा यसको यथोचित संरक्षण र विकासमा जुट्न आग्रह गर्नुभएको छ ।

    बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षण गर्दै उहाँले पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतमबुद्धले अघि सार्नु भएका मानवतावादी विचार र अहिंसा, शान्ति र सद्भावको प्रचारप्रसार गर्न प्रेरित गरिनुपर्ने बताउनुभयो ।

    चालु आवको प्रगति समीक्षा र आगामी कार्यक्रमको छलफलमा समेत सहभागी हुनुभएका मन्त्री भट्टराईले नेपाल र मित्रराष्ट्रहरुबीचको सम्बन्धलाई हार्दिक र सुदृढ बनाउने प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले कु्नै पनि मित्रराष्ट्रहरुको संवेदनशीलतालाई ख्याल गरी धार्मिक तथा सांस्कृतिक गतिविधिलाई अघि बढाउन पनि निर्देशन दिनुभयो । उहाँले देशभरका गुम्बामा के कस्ता गतिविधि भइरहेका छन् तिनको प्रभावकारी अनुगमन गर्न तथा गुम्बाभित्र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिनुभयो ।

    मन्त्रालय मातहत निकायका काम कारवाहीलाई शत प्रतिशत सम्पन्न हुनेगरी काम गर्न आग्रह गर्दै पर्यटनमन्त्री भट्टराईले प्रत्येक महिना मन्त्रालयमा प्रगति पेश गर्न पनि निर्देशन दिनुभयो ।

    विश्वमा अर्बौै मानिस बुद्धका अनुयायी रहेकामा गौरव गर्दै विश्व सम्पदाको जगेर्ना गर्दै बुद्धसम्बन्धी अध्ययन अनुसन्धानको तीर्थ स्थल नेपाल बनाउनेगरी काम गर्नसमेत गुम्बा विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

    पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले संस्थाको प्रभावकारिता बढाउदैँ जाँदा स्रोतहरु आफैँ जुट्ने बताउँदै गुम्बा विकास समितिलाई चाहिने आवश्यक नियमावलीको मस्यौदा तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो ।

    समितिले चालु आवमा ५७ प्रतिशत मात्रै काम सकिएको प्रतिवेदन पेश गरेको छ । समितिमा हाल देशभर दुई हजार ८२२ गुम्बा आवद्ध छन् ।

    समितिका अध्यक्ष फूपुछेम्बे शेर्पा ९जिक्डोल० ले देशभरका गुम्बालाई समिति मातहत ल्याई संस्थालाई सम्पूर्ण बौद्धमार्गीको आस्थाको केन्द्र बनाउनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    रिजल्ट निकाल्नेगरी काम गर्नुस् : मन्त्री भट्टराई

    पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पुरातत्वलगायत मातहतका निकायका प्रमुखलाई रिजल्ट निकाल्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

    आजै भएको एक अर्को कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले स्वास्थ्य सावधानी अपनाउँदै कामलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभएको हो । उहाँले काम गर्न सहजताका लागि ऐन, नियमावलीको व्यवस्था गर्नु परेमा वा तिनमा समयसामयिक संशोधन गर्न आवश्यक भएमा मस्यौदा तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो । सम्पदा संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारसँगसमेत मिलेर काम गर्न निर्देशन दिँदै पुरातत्व र विश्व सम्पदासूचीमा पर्ने खालका कामहरु द्रुत गतिमा गर्न आग्रह गर्नुभयो । उहाँले सम्पदा संरक्षण नयाँ योजनाका साथ मन्त्रालयमा आउन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।

    छलफलमा पुरातत्व विभाग, नारायणहिटी दरबार सङ्ग्रहालय, राष्ट्रिय अभिलेखालय, राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुर, हनुमानढोका दरबार स्क्वायर समिति, पाटन सङ्ग्रहालय विकास समिति, राष्ट्रिय मुद्रा सङ्ग्रहालय, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुर, स्मारक तथा दरबार हेरचाह अड्डा ललितपुरलगायतले चालु आवको प्रगति र आगामी वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस