एटीएम कार्डको सुरक्षित प्रयोगका लागि ग्रीन पिन
सूचना प्रविधिले दैनिक जीवनलाई निकै नै सहज बनाइदिएको छ । अन्य क्षेत्रमा जस्तै बैंक तथा वित्तीय क्षेत्रमा समेत यसको प्रयोग बढ्दो छ । प्रविधिले आम मानिसको जीवनमा सहजतामात्रै नभई थपेको नभई जोखिम समेत बढाएको छ । अतः प्रविधि प्रयोगको प्रसङ्ग आउनेबित्तिकै बिर्सनै नहुने कुरा हो जोखिम र सुरक्षा ।
हामीले दैनिक जीवनमा गर्ने विभिन्न गतिविधि कति सुरक्षित छन् ? तिनलाई अझै सुरक्षित बनाउन के गर्ने ? भन्ने विषयमा हरेक व्यक्तिले सोच्नुपर्ने हुन्छ । हिजोआज दैनिकरुपमा हुने व्यक्तिगत बैंकिङ कारोबारको मुख्य हिस्सा विद्युतीय कारोबार हुने गरेको छ । त्यसमध्ये पनि एटीएम कार्डको प्रयोग सर्वाधिक हुन्छ । नेपालको सन्दर्भमा एटीएमलाई विद्युतीय कारोबारको पर्यायकै रुपमा लिन सकिन्छ । पछिल्लो समय एटीएम कार्डको सुरक्षित प्रयोगका सन्दर्भमा ग्रीन पिन निकै लोकप्रिय बन्दै गएको छ ।
ग्रीन पिन केहो ?
विद्युतीय बैकिङ कारोबारको लागि एटीएम मेसिन र कार्ड सबैभन्दा बढी प्रयोग हुने गर्दछ । सामान्यतया एटीएम कार्डमा व्यक्तिगत पहिचानका लागि प्रयोग हुने चार अंकको संकेत नम्बर, पर्सनल आइडेन्टिफिकेसन नम्बर (पिन) बैंकले उपलब्ध गराउँदछ । नयाँ कार्ड जारी गर्दा बैंकले नै पिन उपलब्ध गराउने र त्यो नम्बर परिवर्तन गर्नुपरेको खण्डमा बैंकमा जानुपर्दछ । ग्रीन पिन एटीएम मेसिनको माध्यमबाट ग्राहक स्वयंले आफ्नो डेबिट/क्रेडिट कार्डको पिन सिर्जना वा परिवर्तन गर्न मिल्ने सुविधा हो ।
ग्रीन पिन प्रचलनमा आएसँगै यसले पिन परिवर्तन वा नयाँ कार्डको पिनका लागि बैंक धाउनुपर्ने बाध्यता हटेको छ । नेपालमा एभरेष्ट बैंक, सिटिजन्स बैंक, नबिल बैंक लगायतले यो सुविधा उपलब्ध गराइसकेका छन् भने अन्य बैंक निकट भविष्यमै अपग्रेड गर्ने तयारीमा छन् ।
ग्रीन पिनले कसरी काम गर्छ ?
डेबिट/क्रेडिट कार्डलाई एटीएम मेसिनमा राखी बैंक खातासँग लिङ्क गरिएको मोबाइल नम्बरमा वन टाईम पासवर्ड (ओटीपी) प्राप्त गर्न सकिन्छ । ओटीपीको सहायताले नयाँ कार्डमा पिन सिर्जना वा प्रयोग गरिरहेको कार्डको पिन परिवर्तन गर्न सकिन्छ ।
ग्रीन पिनका विशेषताहरु
परम्परागत पेपर पिन प्रयोगको जोखिम नहुने ।
पिन परिवर्तनकै लागि बैंक धाउने समयको बचत ।
सुरक्षित र प्रयोग गर्न सजिलो ।
क्याटेगोरी : नवप्रर्बतन
प्रतिक्रिया दिनुहोस