सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो
हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ । तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा ।
घरमै सुत्केरी हुँदा आमा-बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो ।
जुन घरमा गर्भवती छन्, त्यो घरमा बधाईसहित गाउँपालिकाकाले कार्ड पठाउन शुरू गरेको छ । कार्डको एकातिर गर्भवती भएकोमा बधाई दिइएको छ भने चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीका अनुसार गर्भवतीलाई अनिवार्य रूपमा स्वास्थ्यचौकीमा आउन निमन्त्रणा कार्ड नै वितरण शुरू गरिएको हो । “कार्डमा गर्भवती भएका बेला अपनाउनुपर्ने र सचेत हुनुपर्ने कुराहरू पनि समावेश गरेका छौं”, उनले भन्नुभयो, “कम्तीमा चार पटक गर्भ जाँच गराउन पनि निमन्त्रणा कार्डमार्फत नै सम्झाउन खोजेका छौं ।”
गाउँपालिकाभित्र जोखिमका साथ परम्परागत रूपमा घरमै सुत्केरी हुने अवस्था हटाउन यस्तो उपाय निकालिएको बताउँदै संयोजक शाहीले बालमृत्युदर कम गर्न यो कार्यक्रम प्रभावकारी हुनसक्छ भन्नुभयो । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गर्भवतीलाई रु तीन हजार यातायात खर्च र नियमानुसार स्वास्थ्यचौकी आएर चार पटक चेकजाँच गरेपछि थप रु ८०० पाउने व्यवस्था रहेको बताउँदै उनले नवजात शिशुलाई पनि न्यानो झोला र लुगा दिने व्यवस्था छ ।
पछिल्ला समय स्वास्थ्यचौकीमा आएर १०१ गर्भवतीले सुरक्षित सुत्केरी गराएको संयोजक शाहीले जानकारी दिए । सुत्केरी तथा गर्भवती महिलालाई निम्तोपत्र दिने अभ्यास गर्ने खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह रहेको छ । शुरुका वर्षमा गाउँघरमै सुत्केरी हुने र हाल गाउँपालिकाले सुरक्षित सुत्केरीका लागि निम्तो पठाएपछि स्वास्थ्यचौकी गर्भवती हुनेको सङ्ख्या बढेको स्वास्थ्य शाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस