• जीवनशैली | Jiwanshaili
  • कम्प्युटर सिक्दै दुर्गमका विद्यार्थी


    करीब दुई महिनादेखि कम्प्युटर शिक्षा लिन थालेका काभ्रेपलान्चोकका अमिर तामाङले आफूलाई निकै भाग्यमानी सम्झिएका छन् । गाउँको विद्यालयमा बढेर पनि कम्प्युटर शिक्षा लिन पाउँदा निकै खुशी लागेको उनले बताए ।

    कक्षा ८ मा अध्ययनरत मन्दागाउँका विद्यार्थी तामाङले पहिला कम्प्युटर के हो ? कसरी काम गर्छ, भन्ने नै थाहा नपाएकामा अब त्यस बारेमा सामान्य ज्ञान लिन पाएको बताए । ‘दुर्गम क्षेत्रमा बसेर पनि विद्यालयले कम्प्युटर सिक्न पाउने व्यवस्था गरेपछि पहिलोपटक कम्प्युटर देख्न, छुन र त्यससम्बन्धी ज्ञान लिन पाएकोमा धेरै खुशी छु’, उनले भने, ‘पहिला कम्प्युटर नै छुन नपाएको म अहिले अङ्ग्रेजी टाइपिङ, फोटोशप, एक्सल, वोर्डको बारेमा ज्ञान लिइरहेको छु ।’

    कक्षा ७ मा अध्ययनरत विद्यार्थी रेगन श्रेष्ठले दुर्गम क्षेत्रका विद्यार्थीका लागि कम्प्युटर शिक्षा लिन पाउनु निकै खुशीको कुरा भएको बताए । करीब आधा घण्टा पैदल हिँडेर विद्यालय जाने गरेका श्रेष्ठले कम्प्युटर चलाउन जानेपछि त्यसबाट लिन पाउने सुविधा र आवश्यक पर्ने टाइपिङको सीप सिकिरहेको बताए ।

    गाउँको विद्यालयमा पढेर पनि आफ्नै विद्यालयमा कम्प्युटरसम्बन्धी पढाइ सिक्न पाउँदा निकै खुशी भएको उनको भनाइ छ । कक्षा ६ मा अध्ययनरत अर्का विद्यार्थी इन्द्रमाया तामाङले करीब डेढ घण्टाको बाटो हिँडेर विद्यालयमा अध्ययन गर्दै आएकी छिन् । विद्यालयमा नियमित पढाइसँगै पछिल्लो समयमा कम्प्युटर शिक्षाको बारेमा ज्ञान लिन पाएकोमा खुशी व्यक्त गरिन् । विद्यालयको नियमित कक्षा सँगसँगै कम्प्युटरमा टाइपिङ सिक्ने, त्यसैमा चित्र कोर्ने र आफूले जानेको कुरा साथीभाइसँग साट्न पाउँदा निकै खुशी लागेको उनले बताइन् ।

    अझ कम्प्युटरको बारेमा धेरै सिक्ने रहर भएको बताउने उनले सिकेको कुरालाई व्यवहारमा प्रयोग गर्न पाउने आशामा रहेको बताइन् । उनीहरु मात्रै होइन, जोगेश्वर माध्यमिक विद्यालयका विद्यार्थी हिजोआज कम्प्युटर सीप सिक्नका लागि निकै उत्सुक भएर कक्षामा सहभागी हुने गरेका छन् ।

    विकट गाउँको विद्यालयमा प्राविधिक विषय कम्प्युटरसम्बन्धी ज्ञान दिने उद्देश्यले कक्षा सञ्चालन गरेपछि अहिले कक्षा ६ देखि १० सम्मका विद्यार्थी सो सीप सिक्न उत्सुकताका साथ कक्षामा सहभागी हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयका कम्प्युटर शिक्षक प्रवीण कोइरालाले तीन महिनादेखि ती विद्यार्थीलाई कम्प्युटरसम्बन्धी कक्षा दिइरहेका छन् ।

    ‘पहिला विद्यालय भवन व्यवस्थित नभएको कारण कम्प्युटर कक्षा सञ्चालन गर्न पाएका थिएनौँ’, उनले भने, ‘२०७२ को भूकम्पपछि पुनःनिर्माणको क्रममा एशियाली विकास बैंकको सहयोगमा व्यवस्थित पक्की भवन निर्माण भएसँगै तीन महिनादेखि निरन्तर रुपमा कम्प्युटर कक्षा सञ्चालन हुँदै आएको छ ।’ शुरुमा निकै अप्ठ्यारो लागेको र सम्भव हुँदैन कि भन्ने उनलाई लागेको थियो । विद्यार्थीको सक्रियताका कारण सिकाउँदै जाँदा धेरै प्रभावकारी भएको उनले सुनाए ।

    विद्यालयले विद्यार्थीका लागि ऐच्छिक विषयको रुपमा कक्षा ६ देखि ८ सम्म कम्प्युर शिक्षा राखेको शिक्षक कोइरालाले बताए । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारस्थित सो विद्यालयमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको पहलमा सूचना प्रविधि प्रयोगशालाको लागि २५ वटा कम्प्युटर प्राप्त गरेपछि ग्रामीण क्षेत्रका बालबालिकाले पनि कम्प्युटर सिक्ने अवसर प्राप्त भएको विद्यालयका प्रधानाध्यापक अम्बिकाप्रसाद दाहालले बताए ।

    ‘अहिले विद्यालयमा दूरसञ्चार प्राधिकरणबाट प्राप्त भएको २५ वटा कम्प्युटरसहित गाउँपालिकाबाट सात वटा र विद्यालयमा सहयोगी दाताबाट पाँच वटा गरी ३६ वटा कम्प्युटर राखेर विद्यार्थीलाई यससम्बन्धी शिक्षा दिइरहेका छौँ’ प्रधानाध्यापक दाहालले भने, ‘कम्प्युटर प्राप्त गरेपछि कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई नियमित रुपमा कक्षा सञ्चालन गर्नुका साथै कक्षा ९ र १० का विद्यार्थीका लागि खाली समयमा सिक्ने अवसर मिलाइरहेका छौँ ।’

    कम्प्युटर शिक्षा दिन विद्यालय सफल भए पनि इन्टरनेटको व्यवस्थापन गर्न नसक्दा भने समस्या व्यहोर्नु परेको विद्यालयले जनाएको छ । ‘विद्यालयले प्रयास गरेको वाइम्याक्स सेवा पनि प्रभावकारी नभएपछि समस्या झेल्नुपरेको विद्यालयका प्रधानाध्यापक दाहालले बताए । ‘अब इन्टरनेट सुविधा उपलब्ध गराउनसके गाउँमा नै सबैजसो सुविधा दिन सकिन्थ्यो’ उनले थपे, ‘इन्टरनेट व्यवस्थापन गर्न सकेको खण्डमा विद्यार्थीलाई थप ज्ञान दिलाउन पाउने थियौँ ।’

    विद्यालय भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि एशियाली विकास बैंक(एडिबी)को सहयोगमा २२ कोठे विद्यालय भवन निर्माण गरेपछि त्यससँगै अहिले कम्प्युटर कक्षासमेत निरन्तर सञ्चालन हुँदै आएको छ । विद्यालय व्यवस्थापन समितिको पहलमा पुस्तकालय र विज्ञान प्रयोशाला समेत व्यवस्थापन गर्दै आएको विद्यालयले पछिल्लो समयमा कम्प्युटर शिक्षाको कक्षालाई पनि अगाडि बढाएको हो ।

    प्रधानाध्यापक दाहालका अनुसार २०२४ सालमा स्थापना भएको सो विद्यालयबाट ११ पटक एसइई दिइसकेकामा अहिले एक जना मात्रै मावि अनुदान कोटाको शिक्षक उपलब्ध गराउनुले निकै समस्या भएको गुनासो गरे । प्रावि तहमा पाँच जना, निमावि तहमा दुई जना राहत दरबन्दी रहेको सो विद्यालयमा गाउँले अभिभावकको चन्दा सहयोगबाट शिक्षक व्यवस्थापन गरी कक्षा सञ्चालन गर्दै आएको उनले बताए ।

    सरकारले उपलब्ध गराएको विद्यालयमा नै दिवा खाजाको व्यवस्थापन गरेर विद्यार्थीलाई विद्यालयप्रति आकर्षण बढाएर शिक्षामा थप प्रभावकारी काम गरिरहेको विद्यालयले जनाएको छ । ग्रामीण क्षेत्रको सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १० सम्ममा रोशी गाउँपालिका– ३, ४ र ५ का गरी २१७ विद्यार्थी अध्ययनरत छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस