• जीवनशैली | Jiwanshaili
  • गर्मी मौसममा स्वास्थ्यका लागि फाइदेमन्ध छन् यी तरकारीहरू


    यति बेला नेपालमा गर्मी बढ्ने क्रममा छ । गर्मी याममा खानेकुरामा निकै सचेत हुनुपर्छ । विशेष गरी राति खाने खानामा बढी ध्यान दिनुपर्छ, ता कि
    निद्रा तथा पेटसम्बन्धी कुनै प्रकारको समस्या नआओस् । यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पुरा गर्न सघाउ पुग्छ ।
    गर्मी मौसममा कुन तरकारी खाने त ?

    तरकारी हाम्रो दैनिक जीवनमा अति आवश्यक छ । तर कुन मौसम कस्तो खालको तरकारी खाने भन्ने कुरा सबैलाई थाहा नहुन पनि सक्छ । सामान्यतया जाडो
    मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले, यो वेला खानपानमा उचित ध्यान दिन नसकेमा छिट्टै रोग लाग्ने सम्भावना रहन्छ । तरकारी भिटामिन, मिनरल्स र आवश्यक पौष्टिक तत्त्वको राम्रो स्रोत हो ।

    कतिपय तरकारीले शरीरमा तापक्रम बढाउने काम गर्छन् । गर्मीमा बाहिरको तापक्रम बढी हुने गर्छ । यस्तोमा तापक्रम बढाउने तरकारी खाँदा तापक्रम नियन्त्रण गर्न गाह्रो हुन्छ । यसर्थ, गर्मी मौसममा सजिलै पच्ने र हलुका तरकारी उपभोग गर्नुपर्छ । त्यसका लागि यी तरकारी उपयोगी हुनसन्छन् ।

    १) सिमी
    सिमीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्छ । यसबाहेक शरीरलाई आवश्यक पौष्टिक तत्त्व जस्तै ः प्रोटिन, भिटामिन ए, बी र सी, क्याल्सियम, आइरन तथा बिटा क्यान्टिन पाइन्छ । क्यान्सर, मधुमेह र फ्याटी लिभरको समस्या कम गर्छ । त्यसैले, गर्मीमा सिमी स्वास्थ्यको लागि उपयोगी मानिन्छ ।
     

    २) भन्टा
    भन्टा भिटामिन र खनिजको राम्रो स्रोत हो । यसमा उच्च मात्रामा फाइबर पाइने भएकाले यो पाचन पक्रियाका लागि लाभदायी हुनसन्छ । सिजनमा फलेको भन्टा नियमित सेवन गर्दा हाड तथा जोर्नीको समस्या हुने सम्भावना न्यून हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टको मात्राले गर्मीमा लाग्न सक्ने रोगबाटसमेत बचाउँछ ।

    ३) गोलभेँडा
    गोलभेँडा जुनसुकै मौसममा खाँदा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । गोलभेँडामा प्रशस्त पानी हुने भएकाले गर्मीका लागि उपयुक्त तरकारी हो । यसमा क्यालोरी ठिक्क मात्रामा (१ सय ग्रामको गोलभेँडामा १८ प्रतिशत क्यालोरी) पाइन्छ । त्यसैले, यो हलुका तरकारीमध्येमा पर्छ । त्यस्तै, यसमा फाइबर र प्रोटिनसमेत पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले राम्रो हो ।

    ४) काँक्रो
    प्रशस्त पानीको मात्रा हुने भएकाले काँक्रो गर्मीका लागि उपयोगी छ । त्यस्तै, काँक्रो भिटामिन र एन्टिअक्सिडेन्टको पनि राम्रो स्रोत हो । साथै, खनिज तत्त्वको मात्रा पनि भरपुर हुने भएकाले शरीरमा रहेका विषाक्त वस्तुलाई बाहिर निकाल्छ ।

    ५) फर्सी
    गर्मीमा सजिलै उपलब्ध हुने फर्सी स्वास्थ्यका दृष्टिकोणले समेत निकै उपयोगी हुन्छ । यसमा पाइने पोटासियमको मात्राले रक्तचाप नियन्त्रण गर्छ ।त्यस्तै एन्टिअक्सिडेन्टले आँखाको दृष्टिमा आउने समस्या कम गर्छ । त्यसैले, नियमित फर्सीको सेवनले क्यान्सर, हृदय रोग, दम र चाँडै बुढो देखिने समस्याको जोखिम घटाउँछ ।

    ६) भेडे खुर्सानी
    भेडे खुर्सानी (क्याप्सिकम) भिटामिन सी को भण्डार हो । यसमा प्रशस्त मात्रामा क्यालोरी हुन्छ । यो जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ ।

    ७) गान्टे मुला
    पातसहितको गान्टे मुलामा भिटामिन फाइबर पाइन्छ । जसले पाचन प्रक्रिया सहज बनाउँछ ।

    ८) भिण्डी
    भिण्डीमा एन्टिअक्सिडेन्ट, फाइबरजस्ता पौष्टिक तत्त्व पाइन्छन् । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लागी फाइदाजनक मानिन्छ । त्यस्तै, यसमा एक किसिमको एन्टिअक्सिडेन्ट हुन्छ, जसले तनाव व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ । यसका साथै गाँजर, लौका, घिरौँला, परबल, स्कुस, कर्कलो, फर्सीको मुन्टा तथा हरिया सागपात आदिसमेत गर्मी मौसमका लागि फाइदाजनक तरकारी हुन् । यस्ता तरकारीले शरीरमा पानीको मात्रा कायम राख्नुका साथै स्वस्थ रहन सहयोग पुर्‍याउँछन् ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार