• जीवनशैली | Jiwanshaili
  • कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप काठमाडौं आइपुग्यो


    नेपाललाई चिनले उपलब्ध गराएको कोरोनाभाइरस विरुद्धको खोप सोमबार काठमाडौं आइपुगेको छ । चीनबाट ८ लाख मात्रा (डोज) खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    अधिकारीहरूका अनुसार सोमबार नेपाल आइपुेको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने छ । विश्व स्वास्थ्य सङ्गठनले चीनको यो खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उक्त निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेका छन् । नेपालले भने उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ ।

    यो खोप दुई मात्रा लगाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ । विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको छ । खरिद गर्दा भने यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ ।

    अधिकारीहरूका अनुसार अहिले नै ठूलो सङ्ख्यामा खोप उपलब्ध नभइसकेकाले सकेसम्म बढी संवेदनशील र खोपको आवश्यकता भएको समूहका व्यक्तिहरूलाई उक्त खोप दिइनेछ ।

     


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस