• जीवनशैली | Jiwanshaili
  • नुमाफुङ्गको सिनेम्याटिक लिवर्टी


    सचिन घिमिरे, लेखक

    कथा पटकथाको अनि पटकथा चलचित्रको मुख्य आधारशीला हो । अर्थात चलचित्रको पटकथा तयार हुनुअघि कथा तयार भएको हुनुपर्दछ । यद्यपी कथा नै तयार नभइकन सोझै पटकथा लेखिने चलनहरु पनि नभएका होइनन् । चलचित्र निर्माण गर्ने सिलसिलामा सम्वन्धित चलचित्रकै लागि कथा लेखिने शैलीे संसारभरका अधिकाशं चलचित्रकर्मीहरुले अपनाउँदै आएको चलन हो । स्वतन्त्र तरिकाले लेखिएको कथालाइ पटकथाको स्वरुपमा विस्तार गरेर चलचित्र बनाइने चलनहरु पनि येथेष्ट नै छ । मूल कथालाई पटकथामा ढालेर चलचित्र निर्माण गर्दा निर्देशकमा ‘टेक्स्ट टु भिजुअल’ अर्थात लेखिएको पाठलाइ दृश्य भाषामा उतार्न निर्देशकमा निहित ‘सिनेम्याटिक सेन्स’ अर्थात चलचित्र चेतले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आख्यानको स्वतन्त्रता अर्थात ‘सिनेम्याटिक लिवर्टी’ मूल सिर्जनालाइ पटकथामा रुपान्तरण गर्ने सिलसिलामा चलचित्रको पात्र, प्रवृती र परिवेशलाइ आवश्यकता अनुसार विस्तारित स्वरुपमा फैलाउनु र खुम्चाउनु दुवै हो ।

    मुल कथामा भएका वाक्य तथा शब्दहरुमा थुप्रै लुकेको भाव अर्थात ‘सव–टेक्स्ट’ हरु हुन सक्छन् । कथामा भएका सव–टेक्स्टहरुबाट नै अर्थ खोज्दै गएर सानो झ्याल संसार चियाउने मौका चलचित्रका पटकथाकार तथा निर्देशकहरुले प्राप्त गर्दछन् । नेपाली सन्र्दभमा परालको आगोे, बासुदेव (कट्टेल सरको चोटपटक), बसन्ती, मसान, सेतो बाघ, शिरिषको फूल, तीन घुम्ती र नुमाफुङ्ग जस्ता चलचित्रहरु स्वतन्त्र रुपले लेखिएका साहित्यिक कृतिमा आधारित भएर निर्माण भएका उदाहरणहरु हुन् । काजिमान कन्दङ्वाको कथा कारोबार कि घरबारमा अधारित नविन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र नुफाफुङ्गको लागि निर्देशक स्वयंले पटकथा तयार पारेका थिए । लगभग १५०० शब्दको छोटो कथा कारोबार कि घरबारलाई पटकथामा रुपान्तरण गरेर पाँचथरको लिम्बु समाजमा बाँचेको पात्रहरु, उनीहरुको प्रवृति र स्थानीय परिवेशलाइ निर्देशक सुब्बाले नुमाफुँग चलचित्र मार्फत सशक्त उदाहरण प्रस्तुत गरेको देखिन्छ ।

    कथाकार कन्दङवाको ‘कारोबार कि घरबार’ कथाकी ‘एक्ली’ पात्र, निर्देशक सुब्बाको चलचित्र नुमाफुङ्गमा ‘नुमाको’ नयाँ अवतारमा रुपान्तरित भएकी हुन् । कङदवाले एक्ली पात्रमा नसमेटेका थुप्रै आन्तरिक र वाह्य द्दन्दहरु सुब्बाको नुमा पात्रमा जोडिएर आएका छन् । कन्दङको मुल कथामा एक्लीको कुनै बहिनी छैन तर नुफाफुङ्गकी नुमाको भने उनलाइ माया गर्ने सानी बहिनी पनि देखा पर्दछिन् । चलचित्रको पटकथाको भाषामा साइड किक भनिने लोजीना जस्ता पात्रहरु मार्फत नुमाफुङ्गकी नुमालाइ धेरै सन्दर्भहरुमा भावनाहरु अभिव्यक्त गर्न सहज भएको देखिन्छ । यस अर्थमा कथाकार कङ्दवाको एक्ली पात्रलाइ धेरै नै गुम्साएको भान हुन्छ भने निर्देशक सुब्बाको नुमा पात्रले भने आफना भावनाहरु अभिव्यक्त गर्ने माध्याम भेटेको देखिन्छ । यद्यपी कन्दङ्वाको कथामा रमाइलोसँग आएका केहि घटनाहरुलाइ सुब्बाले नुमाफुङ्गमा उल्लेख नगरेका प्रसँगहरु पनि छन् । मुल कथामा चलनचल्ती अनुसार छोरी कुटुम्वलाइ सुम्पने निर्णय गर्नु अघि रित बुझने बेलामा एक्लीको बाउको चित्त नबुझुन्जेल कुटुम्बहरु अर्को घरमा गएर बस्छन् । फेरी अर्कोपटक एक्लीको बाबुलाइ मनखुश बनाउने गरी रित बुझाउन लिएर आउँछन् ।

    मुलकथामा कन्दङ्वाले सहज तरिकाले बयान गरेका यस्ता दृश्यहरु निर्देशक सुब्बाले पटकथा तयार पार्दा नजरअन्दाज गरेका छन् । मूल कथामा विवाहको दृश्यलाई गरिएको बयान भन्दा चलचित्रमा अझ मसिनो स्वरुपमा दुलहीलाई घरसम्म लैजाँदा सेतो चामलको टिका निधार भरी लगाइदिएर निधारमा शिरफुल लगाएकी दुलही कपडाको डोलीमा बसेर गृह प्रवेश गरेको मनोरम दृश्य देखिन्छ । मूल कथामा नै टेकेर निर्देशक सुब्बाले प्रत्येक जसो दृश्यहरुमा लिम्बु समाजको साँस्कृतिक रितिथिती, धान नाच देखि मृत्यु संस्कार, स्थानिय लोकभाषा, सँगीत र कोदोको जाँड पिउने जस्ता चलनहरु पनि पटकथामा समेटेका छन् । यस अर्थमा मूल कथामा भएको साँकृतिक सन्दर्भ अर्थात ‘कल्चरल क्लीयु’ मा टेकेर पटकथाकारले कसरी आफनो कल्पनाशीलताको प्रयोगले शब्दहरुलाई दृश्यभाषामा प्रस्तुत गर्न सक्छन् भन्ने बलियो उदाहरण नुमाफुङ्गमा देखिएको छ ।

    कन्दङको मुल कथामा एक्लीको कुनै बहिनी छैन तर नुफाफुङ्गकी नुमाको भने उनलाइ माया गर्ने सानी बहिनी पनि देखा पर्दछिन् । चलचित्रको पटकथाको भाषामा साइड किक भनिने लोजीना जस्ता पात्रहरु मार्फत नुमाफुङ्गकी नुमालाइ धेरै सन्दर्भहरुमा भावनाहरु अभिव्यक्त गर्न सहज भएको देखिन्छ ।

    कथाकार कन्दङ्वाले एक्ली पात्रको पहिलो पतिलाई बिरामी बनाएर एकै वाक्यमा नै मृत्युको निर्णय पनि सुनाएका छन् । तर नुमाफुँङ्गमा नुमाको पहिलो पति ओझहाङ्गले भने एकै वाक्यमा प्राण त्याग गरि हाल्दैनन् । आफनो गाउँलेको नयाँ घर बनाउन जँगलमा दाउरा चिर्न बसेका ओझाहाङ्ग बिरामी भएर घर फर्कछन् । यस अवस्थामा नवविवाहिता दुलही नुमाले आफनो श्रीमानलाई हेरचाह गरेको र श्रीमान श्रीमतीबीचको आत्मीय सम्वन्धलाइ दरिलोसँग प्रस्तुत गरेको देखिन्छ । मूल कथामा कथाकारले एकै वाक्यमा अस्तित्व सकाएको पात्रलाई निर्देशक सुब्बाले प्रभावकारी चरित्र चित्रण अर्थात बलियो ‘क्यारेक्टर आर्क’ दिएकोले पनि नुमाफुँङ्ग हेरिसकेपछि नुमाको पहिलो श्रीमान ओजाहाङ्ग दर्शकको मनमतिस्कमा वसिरहने पात्रको रुपमा स्थापित भएको देखिन्छ । ससुराली गएको बेला देखिनै सञ्चो नभएको देखाएर मूल कथामा नभएकी पात्र लोजीनाको दुस्वपन मार्फत ओझाहाङ्गको मृत्यु सम्वन्धी सम्भावित पूर्व संकेतहरु नुफाफुङ्गको लागि निर्देशक सुब्बाले पटकथामा गरेका नविन परिकल्पनाहरु हुन् ।

    मुल कथामा उल्लेख नभएको नुमाको श्रीमान ओझाहाङ्गको मृत्यु पछिको घटनाहरुलाइ पनि चलचित्रमा बलियो गरी आएको देखिन्छ । पटकथाको भाषामा ‘आफ्टर म्याथ’ भनिने यस अवस्थामा नुमाको ‘इमोसनल मोनोलग’ अर्थात भावनात्मक एकालापहरु पनि चलचित्रमा मार्मिक तरिकाले अभिव्यक्त भएका छन् ।

    कन्दङ्वाको मुल कथामा एक्ली कतै कतै मात्र रुने मौका पाउँछिन । सुब्बाको नुमाले भने चलचित्रमा पटकपटक भावनात्मक अभिव्यक्त गर्ने अवसर प्राप्त गरेकी छन् । यस सन्दर्भमा कारोवार की घरवारको एक्लीको मनमस्तिस्कभीत्र भन्दा नुमाफुङ्गको नुमाको मनमस्तिस्कको अन्तरभावनाहरु बुझ्न यस्का पटकथाकार तथा निर्देशक सुब्बा निकै गहिरिएका देखिन्छन् । फलस्वरुप, कन्दङ्वाले एक्ली पात्रलाइ मुल कथामा गर्भवती बनाएनन् तर निर्देशक सुब्बाले नुमाफुङ्गकी नुमालाइ पटकथामा गर्भवती बनाएर चरित्रलाई भावनात्मक गहिराइ दिएका छन् । यद्यपी, नुमाको गर्भमा यस्का पटकथाकार सुब्बाले बिजारोपण गरेको त्यो अजन्मा पात्र केहि दृश्य पछि नै गर्भपतन भएर उसको भौतिक अस्तित्व नामेट भएर जान्छ । पटकथाकार सुब्बाले नुमा र ओझाहाङ्गको प्रेमको निसानीलाई दृश्य धर्तीको अस्तित्वमा धेरै बेरसम्म राखिरहन नचाहेको देखिन्छ ।

    मूल कथामा कथाकारले एकै वाक्यमा अस्तित्व सकाएको पात्रलाई निर्देशक सुब्बाले प्रभावकारी चरित्र चित्रण अर्थात बलियो ‘क्यारेक्टर आर्क’ दिएकोले पनि नुमाफुँङ्ग हेरिसकेपछि नुमाको पहिलो श्रीमान ओजाहाङ्ग दर्शकको मनमतिस्कमा वसिरहने पात्रको रुपमा स्थापित भएको देखिन्छ ।

    नुमाको पहिलो श्रीमान ओजाहाङ्ग बितेपछि उनको इच्छा बिपरित अर्को व्यक्तीसँग विवाह गर्न वाध्य हुनुपर्दा उसमा देखिएको भावनात्मक पिडो चलचित्रमा छ । रित समात्ने जस्तो संस्कारलाइ स्वीकार गरेर नुमालाई दोश्रो विवाह गर्न बाध्य बनाइएको अवस्थालाइ निर्देशक सुब्बाले मार्मिक तरिकाले उतारेका छन् । पटकथाको भाषामा ‘एन्टागोनिष्ट’ भनिने गिरिहाङ्गको चरित्र मार्फत परम्परागत सोच बोकेको लिम्बु पुरुषको चरित्रलाइ पनि चलचित्रमा उतारिएको छ । कन्दङ्वाको धनी भक्त पात्रलाइ सुब्बाले गिरहाङ्गको रुपमा चित्रण गर्दा लिम्बु समाजमा हुने मैत्रीपूर्ण शत्रुता अर्थात ठालु पुरुषत्वको प्रदर्शन गर्न लाप्पा खेल्ने चलन पनि रमाइलो तरिकाले देखाएका छन् । लाप्पा खेलिसकेपछि हार्नेले जित्नेसँग फेरि सँगै जाँड खान अनुरोध गरेबाट ग्रामीण जनजीवनका मानविय व्यवहारहरुमा देखिने भावनात्मक सहजता र क्षणिक शत्रुताको पनि चलचित्रको पर्दामा निर्देशक सुब्बाले सशक्त तरिकाले उतारेका छन् ।

    साँस्कृतिक चालचलनहरु र पारिवारिक शक्ति सम्वन्धहरु व्यक्तीको भावनामाथि हावी हुँदा लिम्बु समाजमा पनि हुर्किबढेका चेलीहरु कसरी आफनो आवाजहरु दबाउन बाध्य हुन्छन् भन्ने यथार्थ नुमाफङ्गमा स्पष्टै देखिएको छ । अधिकाशं जनजाती समाज प्राय महिलाप्रधान हुन्छ भन्ने तर्कलाइ नुमाको परिवारले उसको विवाहको लागी समातेको रित र उनको दोश्रो श्रीमानले गरेको र्दुव्यवहार र अपहेलनाहरुले ठाडै चुनौति दिएको देखिन्छ ।

    नुमाफुङ्गमा देखाइएको घरेलु हिंसा र नुमाको विवाहको सवालमा गरिएका पुरुषकेन्द्रीत निर्णयहरुसँग सम्वन्धित दृश्यहरुको विश्लेषणात्मक अवलोकन गर्दा यथार्थको धरातलमा लिम्वु समाजमा पनि संसारका अधिकाशं समाजमा जस्तै पितृसत्तात्मक सोच र पुरुषकेन्द्रीत दबदबा नै कायम छ भन्ने दृष्टान्त पुष्टी गरेको छ । नुमाले बोलेको ‘उनीहरुको कुरा मात्र सुन्न पर्ने, मेरो कुरा नै सुन्दैनन’ भन्ने संवादले पनि महिलाहरुको आवाज जनजाती समाजमा पनि दबिएर नै बसेको हुन्छ भन्ने अर्को प्रमाण चलचित्र नुमाफुङ्गले प्रस्तुत गरेको छ ।

    कल्पनाशीलता र सिर्जनशीलताको प्रचुर अभ्यासले केहि हजार शब्दहरुलाई विस्तारित स्वरुपमा तन्काएर अर्को एउटा गहकिलो सिर्जना तयार भएको उदाहरण चलचित्र नुमाफुङ्गले नेपाली सन्दर्भमा प्रस्तुत गरेको छ ।

    मुलकथा कारोबार कि घरबारमा भएको झिँगटी घरे लाहुरेलाई रिकुटेको रुपमा विस्तारित गरेर लिम्बु समाजमा लाहुर जाने जस्तो विशिष्ट पहिचानलाइ पनि नुमाफँुग चलचित्रले अभिव्यक्त गरेको छ । कथाकारले केहि शब्दहरुमा सिमित गरेर अस्तित्व दिएको पात्रलाइ निर्देशक सुब्बाले चलचित्रमा बलियोसँग उपस्थित गराएर अन्तत्वगत्वा नुमासँग सम्वन्ध बाँधिदिन समेत भ्याएका छन् । बाला चतुरे मेला र धान नाचमा रिकुटेहरुले सोल्टीनीहरुलाई जिस्काउने चलन देखि जात्रामा गएर प्रेम अभिव्यक्त गर्ने विशिष्ट साँस्कृतिक चालचलनहरु पनि चलचित्रमा प्रभावकारी तरिकाले आएको देखिन्छ । साली भेनाको जिस्कने सम्वन्ध अर्थात जोकिङ्ग रिलेसनसिपहरु पनि रोचक तरिकाले प्रस्तुत गरेर मुल कथामा उल्लेख नभएका यस्ता प्रसँगहरुले चलचित्रको कथामा रौनकता थप्न सहयोग गरेको देखिन्छ । स्थानीय जात्राको दृश्यमा पनि पृष्ठभूमिमा अँग्रेजी गीत राखिएकोले कुनैपनि सँस्कृति स्थीर र शुद्ध अवस्थामा रहँदैंन परसँस्कृति ग्रहणको तरल अवस्थाबाट पार गरिरहेको हुन्छ भन्ने अवस्था प्रतिबिम्बित गर्ने साँस्कृतिक संकेतहरु अर्थात ‘कल्चरल सिम्वोल्स’ हरु पनि चलचित्र नुमाफुङ्गमा देखापरेका छन् ।

    कथाकार कन्दङ्वाले उनको पात्रलाई एक्लीलाई झिँगटी घरे लाहुरेसँग औंसीमा हाट भर्न गएको बेला जारी गरेर भगाएका छन् । निर्देशक सुब्बाले नुमालाई पति गिरीहाङ्गको बानी व्याहोराले असहय अवस्था सिर्जना भएपछि मात्र मेलामा दुई पटक भेटिएको रिकुटेसँग भगाएका छन् । यो दुवै अवस्थामा कारोबारकी घरबारकी पात्र एक्ली र नुमाफुङ्गकी नुमा दुवैले जारी भने तिरेका छन् । नुमाले रिकुटेसँग विवाह गरिसकेपछि उनको दोश्रो श्रीमान गिरीहाङ्गले माइतीमा जारी दावी गर्दछन् । यद्यपी गिरीहाङ्गले पाउनु पर्ने जारीको सवालमा नुमाको बाबुसँग सहज तरिकाले कुरा नमिलेपछि जारी दिने र जारी दावा गर्ने समुदायकाबीचमा हुने द्वन्द्वलाई पटकथाकार सुब्बाले रोचक तरिकाले प्रस्तुत गरेका छन् । यस सन्र्दभमा मुलकथाका कथाकार कन्दङ्वाले भने एक्लीको श्रीमान धनभक्तले अमिनीमा गएर ससुरा बिरुद्ध नालीस हालेको देखिन्छ ।

    कथाकार कन्दङ्वाले दुवै पक्षबीचको मुद्दालाइ धेरै वर्ष सम्म तन्काएर र अन्तमा अमीनीले धनभक्तकै नाममा मुद्दा जिताएको उल्लेख एकै वाक्यमा गरेका छन् । तर निर्देशक सुब्बाले भने नुमाको दोश्रो श्रीमान गिरीहाङ्ग पात्रले दलबलका साथ ससुरालीमा गएर दवाब दिएर जारी लिएरै छोडेको दृश्य कल्पना गरेका छन् । कथाकारले मूुलकथामा मुद्दा हेर्ने मध्यस्तकर्ताको सहयोग लिएको देखाएका छन् । पटकथाकार सुब्बाले भने जारी लिने र जारी दिने पक्षको साँस्कृतिक र मनोवैज्ञानिक द्वन्द्वलाई आमने–सामने ल्याएर चलचित्रमा रोचक तरिकाले प्रस्तुत गरेको देखिन्छ ।

    नुमाले आफनो दोश्रो श्रीमान गिरिहाङ्गलाई छोडेर गएपछि उनले जारी रकम सहज तरिकाले पाउने अवस्था हुँदैन । गिरिहाङ्ग दलबलसहित नुमाको घरमै कुँडली कसेर नै बसेपछि नुमाको बाबुले घरखेत नै बन्दकी राखेर सुनौली रुपौलीको दोब्बर जरिवाना तिर्न वाध्य हुन्छन् । मूलकथामा एक्लीको बाबुले धनभक्तलाई जारी तिर्दा राखेको बन्दकीको कारण घरबारकै उठीवास भने कथाकारले कल्पना गरेका छैनन् । छोरीको जीवनको कारण आफनो जीवनमा आएको उचारचडावमा घोन्लिँंदै गर्दा कथा सकाएका छन् । तर चलचित्रमा भने निर्देशक सुब्बाले जारी तिर्दाको बन्दकी निख्न्न नसकेको कारण नुमाको बाबुआमाको घरबार नै उठीवाससमेत लगाएर निमर्म कल्पना गरेका छन् । यस अर्थमा, कन्दङ्वाको मुलकथाको अन्तमा भन्दा नुमाफुङ्ग चलचित्रमा भावनात्मक गहिराइ बढेको देखिन्छ । मूलकथामा नभएको उठिवासको दृश्य समेत पटकथामा बुनेर निर्देशक सुब्बाले नेपाली समाजमा ऋण तथा बन्दकी संस्कृतिले लिएर आउने पीडादायी पाटोहरु पनि उजागर गरेका छन् ।


    तसर्थ, मूल कथामा भएका पात्र, प्रवृति र परिवेशलाई पटकथामा रुपान्तरण गर्दा पटकथाकारले दृश्य भाषाको सहजतालाइ ध्यान दिएर आवस्यकताअनुसार घटाउने र बढाउने गर्न सक्दछन् भन्ने प्रमाण काजीमान कन्दङ्वाको कथालाइ निर्देशक नविन सुब्बाले नुमाफुङ्ग चलचित्र बनाउँदा देखिएको छ । कल्पनाशीलता र सिर्जनशीलताको प्रचुर अभ्यासले केहि हजार शब्दहरुलाई विस्तारित स्वरुपमा तन्काएर अर्को एउटा गहकिलो सिर्जना तयार भएको उदाहरण चलचित्र नुमाफुङ्गले नेपाली सन्दर्भमा प्रस्तुत गरेको छ । नेपाली सन्दर्भमा साहित्यिक कृतिमा आधारित भएर चलचित्रको स्वरुपमा तयार भएपछि अब्बलता हाँसिल गरेका सिर्जनाहरु अत्यन्त कम छन् । युगचेतना बोकेका कालजयी उपन्यासहरुलाई पटकथामा रुपान्तरण गर्दा मूलकथामा भन्दा पनि अत्यन्त खराब तरिकाले पटकथा बुनेर कृतिमाथि चरम अन्याय गरिएको थुप्रै दुष्टान्तहरु छन् । यस परिस्थितिमा संवेदनशील सर्जकहरुले कृतिमाथि यथोचित न्याय गरेर कलामर्मज्ञीहरु र भावी पुस्ताको पनि जस लिने कार्यमा आफुलाइ अग्रसर गराउनु नै वर्तमान समयको सिर्जनात्मक माग रहेको छ ।

    (याे लेख पहिलाेपटक मधुपर्क मासिककाे २०७६ दशैं अंकमा छापिएकाे थियाे)


    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार