डिप्रेसन के हो ? कसरी बाहिर निस्कने ?
मानिसको मन सधैँ एकनासको हुँदैन। कहिले खुसी हुने कहिले निरास हुने भइरहन्छ। आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन दुःखी हुनु स्वभाविक हो। तर कहिलेकाहीँ यत्तिकै पनि २/४ दिनसम्म नरमाइलो लागिरहने, बिस्तारै आफैँ हराएर जाने, मनमा कतिबेला के र कस्ता कुराले असर पुर्यायो भन्ने थाहै नपाई दुःखी हुनु भने अस्वभाविक नै हो।
डिप्रेसन के हो ?
डिप्रेसन खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो। यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो। यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ। डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो। डिप्रेसन एउटा कडा रोग हो, जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुर्याउँछ। यो रोग हरेक देश र समाजमा व्याप्त छ। कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ। यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ। डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ। त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ। मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन्।
डिप्रेसनका कारणहरू:
– जीवनका तनावपूर्ण घटनाहरू जस्तै प्रीयजनको मृत्यु, वियोग आदि।
– केही औषधिहरू खास गरी रक्तचापका बिरामीलाई दिइने औषधि र स्टेरोइड औषधिहरूले डिप्रेसन गराउन सक्छ।
– लामो समयदेखि मधुमेह, मिर्गौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ। त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ।
लक्षणहरू:
– मन उदास (दुःखी/खिन्न) हुनु।
– आफूले पहिले गर्दै आएका कामकाज गर्न जाँगर नलाग्नु।
– पहिला रमाइलो लागिरहेका कुरामा मन रमाइलो नहुने वा रमाइलो गर्न मन नलाग्नु।
– शरीरमा शक्ति नै छैन जस्तो अनुभव हुने, कामकाज नगरे तापनि धेरै थकाईको महशुस हुनु।
– हातखुट्टा झम्झमाउने तथा सम्झने शक्ति कमी हुनु।
– कसैसँग बोल्नरहाँस्न मन नलाग्नु।
– आफ्नो जीवन बेकार, काम नलाग्ने जस्तो विचार आउनु।
उपचार:
– माथि भनिएजस्ता लक्षणहरू देखिएमा बिरामीलाई तुरुन्त मनोचिकित्सक वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मी समक्ष लैजानु पर्दछ।
– डिप्रेसनको उपचारमा औषधि सँगसँगै मनोपरामर्शको पनि जरुरी हुन्छ।
– मनोचिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार ५ महिनादेखि १ वर्षसम्म औषधि खानुपर्दछ।
ध्यानदिनुपर्ने कुरा:
– अत्याधिक महात्वकांक्षी नहुने।
– किशोर किशोरीको पढाइमा, वयस्कले काम तथा जागीरमा, खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नु राम्रो हो। तर धेरै तनाव लिएर प्रतिस्पर्धा नगर्ने।
– आफूसँग नभएका चिजबिजभन्दा पनि आफूसँग भएका चिजबिज जस्तैः सिप, गुण, क्षमता, शिक्षा, सम्पत्ति आदिबारेमा नियालेर हेर्ने र सन्तोषको अनुभव गर्ने।
– खुसी हुँदा, हाँस्दा, कुनै कुरालाई सकारात्मक सोच्दा, खेल, मनोरञ्जन, शारीरिक व्यायाम गर्दा, मस्तिष्कमा राम्रो प्रभाव पार्छ, त्यसकारण यस्ता कुराहरुमा सहभागी हुने।
– आफूलाई दुःख दिने, नराम्रो गर्ने मानिसको बारेमा सम्झिराख्नुभन्दा सुख तथा सहयोग गर्ने व्यक्तिको बारेमा सम्झिनु राम्रो हुन्छ।
– जिन्दगीमा केही गर्न सकिएन, बेकार र धिक्कार छ यो जिन्दगीलाई भन्नुभन्दा पनि हालसम्म आफूले गरेका कामलाई शान्त मनले सम्झिने।
– घर परिववारमा (श्रीमान्, श्रीमती, छोरा, छोरी, सासु–बुहारी) बीचको सम्बन्ध राम्रो बनाउने।
आफैँले दैनिक ध्यानदिने कुराहरू:
– दैनिक ३० देखि ४५ मिनेट जति हिँड्ने वा शारीरिक व्यायाम गर्ने।
– चुप लागेर एउटा कुनामा बस्नुभन्दा घर, कोठा, बारी, बगैँचामा आफूले गर्न सक्ने काम गर्ने।
– आफूलाई मनपर्ने कुनै गीतरभजन वा अन्य रमाइलो कामकाज गर्ने।
– आफूलाई मनमा लागेका कुरा आफैँभित्र राख्नुभन्दा परिवारका सदस्य तथा आफूलाई विश्वास लागेका मानिसलाई सुनाउने।
– प्रशस्त पानी तथा खानेकुरा, फलफूल खान मन नलागे पनि खाने प्रयास गर्ने।
मनोसामाजिक सहयोग:
– बिरामीले आफ्नै लागि केहि सानोतिनो काम गरेको छ। जस्तैः नङ काटेको, कपाल कोरेको, लुगा सफा गरेको छ, भने हौसला तथा प्रोत्साहन दिने।
– बिरामीको हातमा सबै औषधि एकैपटक नदिने, औषधि खुवाँउदा खान नमानेमा बल प्रयोग नगर्ने, सम्झाई बुझाई खुवाउने।
– बिरामी निको हुँदै गएपछि बिरामीलाई रोग लाग्दा के भएको थियो, त्यसबारेमा राम्रोसँग बुझाउन, सम्झाउन सहयोग गर्ने।
– रोग फेरि लाग्न नदिन के–के गर्नुपर्छ भनेर सम्झाउने। जस्तैः दिइएको औषधि नियमितरूपमा खाने, आफूलाई अलिकति पनि व्यवहारमा परिवर्तन आएजस्तो लाग्यो भने फेरि पनि चिकित्सकरस्वास्थ्यकर्मीकोमा जाने, खानपानमा ध्यान दिने, थकाई लागेमा आराम गर्न दिने।
– बिरामीका मनका कुरा सुन्ने–सुनाउने साथी नहुन सक्छन्। तसर्थ परिवारका सदस्य नै कहिलेकाहीँ उसको साथी बनिदिने।
– आत्महत्याको विचार झल्किने खालका विचार व्यक्त गरेमा बिरामीलाई निगरानीमा राख्दै उपचारको लागि मनोचिकित्सककहाँ जानका लगि सहयोग गर्ने।
– औषधिले काम गर्न कम्तीमा पनि दुई हप्ताभन्दा बढी समय लाग्ने हुनाले धैर्य हुने र बिरामीलाई पनि सोहीनुसार सम्झाउने।
क्याटेगोरी : मुख्य समाचार, समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस