• जीवनशैली | Jiwanshaili
  • विज्ञापनरहित सामाजिक सञ्जाल सुरु, फेसबुकको विकल्प बन्ने दाबी


    विकिपेडियाका कोफाउन्डर जिम्मी वेल्सको नेतृत्वमा नयाँ सामाजिक सञ्‍जाल सुरु भएको छ । “डब्लुटी सोसियल” नाम दिइएको यो सामाजिक सञ्‍जाल विज्ञापन रहित हुनेछ । प्रयोगकर्ताको डाटा नबेच्ने प्रतिज्ञा गरेको विकि ट्रिब्युन (डब्लुटी) सोसियल गत अक्टोबरमा लञ्‍च भएको हो । एक महिनाको अवधिमा यसका प्रयोगकर्ताको संख्या दुई लाख नाघेको छ ।
    संसारको सबैभन्दा ठूलो सामाजिक सञ्‍जालको रुपमा रहेको फेसबुकले प्रयोगकर्ताको डाटा बेच्ने गरेको गम्भीर आरोप लाग्ने गरेको छ । डब्लुटी सोसियलका संस्थापक वेल्सले यो सामाजिक सञ्‍जाल फेसबुकको विकल्प बन्‍ने दाबी गरेका छन् ।
    फेसबुक र ट्वीटरको ‘क्लिकबेट ननसेन्स’ अर्थात् प्रयोगकर्तालाई लिङ्‍क क्लिक गर्न आकर्षित गराउने खालका सामग्री प्रकाशन गर्ने नियतबाट हैरान भएर डब्लुटी सोसियल सुरु गरिएको विकिपेडियाले उल्लेख गरेको छ ।
    डब्लुटी सोसियल माइक्रो ब्लगिङ साईट र सामाजिक सञ्‍जालको संयुक्त रुप हो । यसमा प्रयोगकर्ताले राख्ने सामग्रीलाई ‘सबविकी’ नाम दिइएको छ । १३ वर्ष उमेर पुगेको व्यक्ति यो सञ्‍जालको प्रयोगकर्ता बन्‍नसक्ने व्यवस्था छ ।
    डब्लुटी सोसियलका प्रयोगकर्ताले झुटा खबर र सामग्रीलाई रोक्दै तथ्यमा आधारित सामग्रीको प्रकाशन गर्नसक्ने व्यवस्था गरिएको वेल्सको भनाई छ । यो सञ्‍जालका प्रयोगकर्ताले “मिसलिडिङ लिङ्‍क”लाई इडिट गर्न सक्ने व्यवस्था गरिएको छ ।
    विकि ट्रिब्युन सत्यमा विश्‍वास राख्ने मानिसहरुको सामाजिक सञ्‍जाल हुने उल्लेख छ । अरु सामाजिक सञ्‍जालहरुले गलत खेलाडीहरुलाई स्पेस दिएको, फेक न्युजले विश्‍व घटनालाई नै प्रभावित पार्ने गरेको र प्रयोगकर्तालाई ‘इन्गेज’ गराउने विषयलाई मात्रै ध्यान दिने खालको अल्गोरिदम विकास गरिएको भन्दै विकी ट्रिब्युन फरक सामाजिक सञ्‍जाल हुने दाबी गरिएको छ ।
    विज्ञापनरहित सोसियल स्पेस हुने र प्रयोगकर्ताको डाटा कहिल्यै नबेच्ने प्रतिज्ञा डब्लुटी सोसियलले गरेको छ ।
    त्यसैगरी सामाजिक सञ्‍जाल सञ्‍चालनका लागि प्रयोगकर्ताबाट आर्थिक सहायता लिने बताइएको छ । सामाजिक सञ्‍जालको धरातल परिवर्तनका लागि यो सामाजिक सञ्‍जाल प्रयोग गर्न आव्हान गरिएको छ ।
    बिगथिङ्‍क डटकमले ‘द एन्टी-फेसबुक सोसियल मिडिया’ शीर्षकको समाचारमा जिम्मी वेल्सको भनाई उद्धृत गर्दै लेखेको छ, “डब्लुटी सोसियलमा प्रयोगकर्तालाई एडिक्ट बनाउने र क्लिक गर्न उत्साहित पार्ने अल्गोरिदम
    प्रयोग गरिएको छैन । हामी साँच्चै तपाईंको जीवनमा अर्थपूर्ण बन्‍न चाहन्छौं ।”


    क्याटेगोरी : प्रविधी शैली

    प्रतिक्रिया दिनुहोस