• जीवनशैली | Jiwanshaili
  • जमाना थ्रीडी प्रिन्टिङको


    प्रविधिमा भएका नयाँ उपलब्धीमध्ये थ्रीडी प्रिन्टिङ (थर्ड डाएमेनसनल) पनि एक हो । थ्रीडी प्रिन्टिङको बहुउपयोगिताका कारण आम मानिसमा यसबारे उत्सुकता बढ्दो छ । सूचना प्रविधिको तीव्र विकाससँगै विश्वमा नयाँ–नयाँ आविष्कारहरू भइरहेका छन् ।

    सामान्य प्रिन्टर हामी सबैले देखेकै छौं, जसले कम्प्युटरमा बनाएको आकृति कागजमा उतार्ने काम गर्छ । तर थ्रिडी प्रिन्टरले नमुना वस्तु नै भौतिक रुपमा दुरुस्त निकाल्ने काम गर्छ ।

    यसको लागि पहिले चित्र वा वस्तुको नमुना बनाइन्छ । त्यसलाई कम्प्युटर सफ्टवेरको माध्यमबाट थ्रिडी मोडलमा उतारिन्छ । त्यो वस्तुलाई प्रिन्टरमा पठाइन्छ र प्रिन्टरले हुबहु निर्माण गर्छ । यो प्रिन्टरमा फ्युज डिपोजिसन मोडलिङ, एबिएस, पिएलए, लगायत धेरै प्रकारका कच्चा पदार्थहरू प्रयोग गरिएको हुन्छ ।

    थ्रिडि प्रिन्टिङ ‘एडिटिभ म्यानुफ्याक्चरिङ’ प्रविधिमा आधारित हुन्छ जहाँ प्रिन्टरले तहगत रुपमा कुनै वस्तुको निर्माण गर्छ । जसलाई बुझ्नका लागि ‘टुडी प्रिन्टिङ’को काम गराईलाई सम्झे पुग्छ ।
    तर, यसमा भने तहगत रुपमा उचाई या मोटाइ बढ्दै गएर वस्तुको निर्माण हुन्छ । यसप्रकारको प्रिन्टिङमा पहिले क्याड (सिएडी)को फाइल निर्माण गरिन्छ, जुन थ्रिडी मोडेल बनाउने प्रोग्रामको माध्यमबाट या थ्रिडि स्क्यानरबाट बनाइन्छ । उक्त फाइलको प्रयोग गर्दै थ्रिडी प्रिन्टिङको माध्यमले थ्रिडी वस्तुहरूको निर्माण गरिन्छ ।

    बहुउपयोगी प्रविधि
    थ्रिडी प्रिन्टिङ सन् १९८० को दशकबाट सुरू भएको हो । इन्जिनियर तथा भौतिकशास्त्री चाल्र्स हलले यस प्रविधिको निर्माण सन् १९८४ मा गरेका थिए । उनकै पहलमा विश्वमा थ्रीडी सिस्टमको पनि विकास भएको थियो । त्यसबेला उद्योग कलकारखानाको पाटपुर्जा बनाउनको लागि थ्रीडी प्रिन्टिङ प्रयोग हुन्थ्यो ।

    यो प्रिन्टरले धेरै महँगा धातुका सामान बनाउने हुँदा सामान्य व्यक्तिको पहुँचमा थिएन । २००६ पछि भने धेरै प्रचलनमा आएको हो । हिजोआज मेटलकै सामान बनाउँदा पनि सुरुमा परीक्षणको लागि यस्ता थ्रिडी प्रिन्टरको प्रयोग गर्ने गरिन्छ ।

    सन् २०१७ को जुलाईमा चीनमा तीन वर्षकी एक बालिकाको खप्पर थ्रिडी प्रिन्टिङ प्रविधिको माध्यमबाट बनाइएको समाचार सार्वजनिक भएको थियो । बालिकाको शल्यक्रिया गर्न चिकित्सकहरुलाई १७ घन्टा लागेको थियो । बालिकालाई टाइटेनियमको मिश्रित धातुबाट बनेको ‘थ्रिडी प्रिन्टेड’ खप्परको सफलतापूर्वक ट्रान्सप्लान्ट गरिएको थियो ।

    आल फोर्ड, बिएमडब्लु लगायतका गाडी कम्पनी तथा इन्जिनियरिङ कम्पनीहरूले थ्रीडी प्रिन्टिङको सर्वाधिक प्रयोग गरिरहेका छन् । यससँगै विश्वभरी नै अहिले मेडिकल उपकरण निर्माण गर्ने उद्योगहरूले पनि थ्रीडी प्रिन्टिङको प्रयोग गर्दै आएका छन् ।

    यस्तै गत मार्च महिनामा इजरायली वैज्ञानिकहरुले त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट मानव मुटु निमार्ण गरेको समाचार आएको थियो । वैज्ञानिकहरूको टोलीले कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफल भएका हुन् । यसले गर्दा पनि थ्रीडी प्रिन्टिङ र प्रविधिको महत्त्व अत्यावश्यक भएको महत्त्व पुष्टि गरेको छ ।

    चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्त्वपूर्ण खोजका रुपमा लिइएको छ किनभने यसअघि वैज्ञानिकले मानव शरीरको कोषहरू मात्र बनाउन सकेका थिए । अब शरीरका पाटपूर्जा बनाएर अध्ययन गर्न सहज हुन्छ

    नेपालमा पनि इन्जिनियरिङ प्रोजेक्टका सामानहरु बनाउन, घरको डिजाइन गर्न, स्पेयर पार्टस आदिको लागि यसको धेरै प्रयोग हुने गरेको छ । थ्रिडी मेसिन विशेषतः नेपालमा इन्जिनियरिङ विद्यार्थीहरूले उपकरणका पार्टसको वस्तुगत नमुना बनाउन, आर्किटेक्चरले भौतिक संरचनाका नमुना बनाउन, र सामान्य रुपमा आफ्नो दिमागमा आएको नमुना कम खर्चमा बनाउन उपयोगी हुन्छ ।

    नेपालमा व्यवसायिक रुपमा ३० सेन्टिमिटर लम्बाई, ३० सेन्टिमिटर चौडाई र ४० सेन्टिमिटर उचाईसम्मको बस्तु बनाउन सक्ने उपकरण उपलब्ध छ । नेपालमा अहिले जेनर टेक्नोलोजीले थ्रिडी मोडल डिजाइन गर्ने, मेसिन बेच्ने, तालिम दिने र बिक्रीपछिको सेवा दिने काम गरिरहेको छ ।
    ०००
    (एजेन्सीको सहयोगमा)


    क्याटेगोरी : प्रविधी शैली

    प्रतिक्रिया दिनुहोस