• जीवनशैली | Jiwanshaili
  • नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था


     

    युवराज भुसाल
    नेपालमा औषधिको प्रयोग र उत्पादनको इतिहास धेरै पुरानो भए पनि यसको नियमन र व्यवस्थापनको औपचारिक प्रक्रिया भने ढिलो सुरु भएको पाइन्छ। प्रारम्भिक चरणमा औषधि र औषधिजन्य सामग्रीहरूको उत्पादन, बिक्री वितरण तथा प्रयोग कुनै विशेष कानुनी संरचना वा नियामक निकायको अभावमा नै सञ्चालन हुँदै आएको थियो। दक्षिण एसियाली सन्दर्भमै हेर्दा औषधि साधारण व्यापारिक वस्तुका रूपमा खरिदबिक्री गर्ने चलन हाबी थियो। यसै परिपाटीले नेपालमा पनि औषधि सेवा र फार्मेसी पेशा लामो समयसम्म केवल ‘व्यापार’ को दृष्टिकोणमा सीमित रह्यो।

    तर, औषधि साधारण व्यापारिक वस्तु नभई स्वास्थ्य सेवा प्रदान गर्ने अति संवेदनशील साधन हो भन्ने चेतना बिस्तारै विकसित हुँदै गएको छ। आजको दिनमा फार्मेसीलाई नाफा–नोक्सानको सामान्य व्यावसायिक गतिविधिभन्दा अलग एक विशिष्टीकृत स्वास्थ्य सेवा हो भन्ने तथ्यलाई प्रमाणित गर्दै अगाडि बढ्नु अपरिहार्य बनेको छ। यही आवश्यकतालाई आत्मसाथ गर्दै नेपालमा फार्मेसी आन्दोलनको सुरुवात भएको हो, जसको मूल ध्येय भनेको व्यापारिक दृष्टिकोणलाई चिर्दै फार्मेसीलाई सेवा–केन्द्रित बनाउनु हो।

    क्वालिटी फार्मेसी सर्भिसमार्फत प्रत्यक्ष रूपमा सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वव्यापी प्रयासमा नेपाली फार्मेसी समाज पनि पूर्ण रूपले समर्पित छ।

    फार्मेसी आन्दोलन र संस्थागत प्रयास
    नेपालमा औपचारिक तथा अनौपचारिक फार्मेसी सेवाको विकाससँगै यस पेशाको कानुनी मान्यता, शैक्षिक गुणस्तर र व्यावसायिक पहिचानलाई सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सङ्घ–सङ्गठनहरूले वकालत गर्दै आएका छन्। गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन, फार्मासिस्टको भूमिका सुदृढीकरण र औषधि सेवाको नियमनकारी संरचना निर्माणमा निरन्तर पहल भइरहेको छ।

    “औषधि भनेको स्वास्थ्य सेवा हो, र स्वास्थ्य सेवा भन्नासाथ फार्मासिस्ट सम्झिनुपर्छ” भन्ने विश्वव्यापी धारणा अहिले नेपालमा पनि प्रासङ्गिक हुँदै गएको छ। क्वालिटी फार्मेसी सर्भिसमार्फत प्रत्यक्ष रूपमा सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वव्यापी प्रयासमा नेपाली फार्मेसी समाज पनि पूर्ण रूपले समर्पित छ।

    औषधिको गुणस्तरीय वितरण प्रणाली सरकारी र निजी दुवै तहमा मजबुत बनाउन जरुरी छ। जनशक्तिको उचित व्यवस्थापन र योग्य व्यक्तिलाई देशमै रोक्ने वातावरण सिर्जना नगरेसम्म गुणस्तरीय सेवा सम्भव छैन।
    राज्यको भूमिका र अपेक्षा
    फार्मासिस्टको भूमिकालाई औपचारिक रूपमा स्वीकार नगरी र प्रत्येक स्वास्थ्य सेवामा उनको प्रत्यक्ष सहभागिता सुनिश्चित नगरी स्वास्थ्य सेवा प्रणालीको समग्र सुधार सम्भव छैन। त्यसैले राज्यले फार्मेसी सेवालाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। त्यस्तै, फार्मासिस्टहरूले पनि आफ्नो सिप, ज्ञान र क्षमता उच्चतम प्रयोग गर्दै गुणस्तरीय सेवा दिन निरन्तर समर्पित रहनुपर्छ।

    वर्तमान चुनौतीहरू
    आज नेपालमा फार्मेसी पेशा अगाडि बढ्दा केही गम्भीर चुनौतीहरू स्पष्ट देखिन्छन् ।

    • व्यापारिक दृष्टिकोण हाबी हुनु – औषधि सेवा अझै पनि खरिद–बिक्रीको साधारण वस्तुका रूपमा व्याख्या हुँदै आएको छ।
    • गैर–दक्ष जनशक्तिको संलग्नता – पर्याप्त दक्ष फार्मासिस्ट उत्पादन भइसके पनि राज्यको प्रभावकारी व्यवस्थापनको अभावमा अझै पनि गैर–फार्मेसी जनशक्तिको संलग्नता हाबी छ।
    • जनशक्ति पलायन – योग्य र दक्ष जनशक्ति विदेश पलायन हुनु र भित्रका सेवामा गैर–दक्षको प्रभुत्व रहनु दुर्भाग्यपूर्ण अवस्था हो।
    • औषधि उद्योगको चुनौती – औषधि उद्योग तीव्र गतिमा विस्तार भइरहेको भए पनि उचित संरक्षण, नियमन र रणनीतिक योजना नहुँदा उद्योग विस्थापनको जोखिम बढ्दो छ।

    भविष्यका अवसर र प्राथमिकता

    नेपालको औषधि उद्योगले आयात प्रतिस्थापन गर्ने मात्र नभई निर्यातको यात्रा सुरु गर्ने सम्भावना बोकेको छ। यसका लागि राज्यले रणनीतिक अभिभावकत्व लिनुपर्छ, अनुसन्धान तथा विकास (R&D) लाई प्राथमिकतामा राख्नुपर्छ, विश्वविद्यालय र शैक्षिक संस्थाहरूले अनुसन्धानमा लगानी बढाउनुपर्छ।

    फार्मेसी पेशा केवल नाफा–नोक्सानको व्यापार नभई नागरिकको जीवन, स्वास्थ्य र सुरक्षित भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा हो।

    औषधिको गुणस्तरीय वितरण प्रणाली सरकारी र निजी दुवै तहमा मजबुत बनाउन जरुरी छ। जनशक्तिको उचित व्यवस्थापन र योग्य व्यक्तिलाई देशमै रोक्ने वातावरण सिर्जना नगरेसम्म गुणस्तरीय सेवा सम्भव छैन।

    निष्कर्ष

    नेपालको फार्मेसी पेशा व्यापारिक परिपाटीबाट सेवा–केन्द्रित पेशामा रूपान्तरण हुँदैछ। यस यात्रामा राज्यको जिम्मेवार भूमिका, फार्मासिस्टहरूको व्यावसायिक प्रतिबद्धता र औषधि उद्योगको संरक्षण तथा प्रवर्धन अपरिहार्य छन्।

    फार्मेसी पेशा केवल नाफा–नोक्सानको व्यापार नभई नागरिकको जीवन, स्वास्थ्य र सुरक्षित भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा हो। यस सन्देशलाई आत्मसाथ गर्दै हामी सबैले“Think Health, Think Pharmacist” भन्ने नारालाई नेपालमा पनि पूर्ण रूपमा कार्यान्वयन गर्ने दिशामा संयुक्त रूपमा अगाडि बढ्न जरुरी छ।

    लेखक नेपाल फार्मेसी सङ्घको अध्यक्ष हुन् ।


    क्याटेगोरी : समाचार, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस