मोदी सरकार समर्थकको नाराः ‘गोली मारो सालोंको’

भारत सरकारले हालै जारी गरेको नागरिकता ऐनको विरोधमा भएको प्रदर्शनका कारण विभिन्न राज्य अशान्त बनेका छन् । नयाँ कानुन लागु भएपछि गैर-हिन्दु समुदाय, खासगरी मुस्लिमहरु नागरिकता पाउनबाट वञ्चित हुने भन्दै आन्दोलन सुरु भएको हो । कतिपय राज्यका प्रमुखहरुले समेत नयाँ कानुन लागु हुन नदिने बताएका छन् ।
सरकार विरोधी प्रदर्शन बढ्दै जाँदा भएका हिंसात्मक झडपमा २ दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन् । यसैबीच सरकार समर्थकहरुले समेत प्रदर्शन गर्न थालेका छन् । बीजेपी, आरएसएस र लोक अधिकार मञ्च लगायतका समर्थक संस्थाले आईतबार नागपुरमा र्याली निकालेका थिए ।
सरकारले ल्याएको ऐनको समर्थनमा गरिएको उक्त प्रदर्शनमा ऐनको विरोध गर्नेहरुलाई देशको गद्दार भन्दै चर्का नारा लागेको थियो । भारतीय झन्डाजस्तै देखिने ठूलो आकारको ब्यानरसहित गरिएको प्रदर्शनमा आजादी चाहनेलाई गोली ठोक्नुपर्ने माग गरेका थिए ।
प्रदर्शनकारीहरुले ‘देशको गद्दारोंको, गोली मारो सालोंको’, ‘किसको चाहिये आजादी?’ लगायतका नारा लगाएको भिडियो सञ्चार माध्यमहरुले प्रसारण गरेका छन् । समाचार संस्थाहरुका अनुसार र्यालीमा उग्र नारा लगाउँदै सरकारको समर्थन गरिएको थियो । ऐनको समर्थन गर्नेहरुले विरोधीहरु देशका लागि गद्दार भएको र हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।
नागरिकतासम्बन्धी संशोधन ऐन-२०१९ संसद्बाट पारित भएसँगै मुस्लिम समुदाय धर्मकै आधारमा विभेदमा पर्ने भन्दै विरोध सुरु भएको हो । विरोधीहरुले यो कानुन प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादकै एक कडी भएको बताएका छन् ।
राजनीतिक विश्लेषकहरुले यो कानुन भारतको संविधानको मर्म विपरीत भएको भन्दै आलोचना गरेका छन् । भारतको संविधान धर्म निरपेक्ष भए तापनि सरकारले त्यसको उल्लङ्घन गरेको उनीहरुको आरोप छ । सरकारले भने यो ऐनले मानवीय सद्भाव बढाउने भन्दै प्रतिरक्षा गरेको छ ।
नेपालमा के असर पर्छ?
नागरिकता ऐनको कारणले तरङ्गित भारतीय राजनीतिको प्रभाव नेपालमा पनि पर्नसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । नयाँ नागरिकता कानुनको कारण पूर्वोत्तर भारतबाट नागरिकताविहीन मानिसहरु नेपाल प्रवेश गर्नसक्ने भएकाले त्यसप्रति चनाखो रहनुपर्ने उनीहरुको भनाई छ । म्यानमारका रोहिङ्ग्या शरणार्थीहरुसमेत नेपाल प्रवेश गरेको परिप्रेक्ष्यमा भारतबाट मानिसहरु आउन झनै सजिलो हुने विज्ञहरु बताउँछन् ।
समस्या आउनुअघि नै संवेदनशील क्षेत्रमा निगरानी बढाउनु उचित हुने विज्ञहरुको राय छ । नेपाल सरकारले भने यस सम्बन्धमा कुनै निर्देशन दिईसकेको छैन ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस