• जीवनशैली | Jiwanshaili
  • उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु


    अबुजा, ३ वैशाख / अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरुबीच भएको भिडन्तमा झण्डै १०० वटा घरमा क्षति पुगेको छ ।

    ताराबाको लाउ नाम गरेको गाउँमा यी दुई प्रमुख जातिको बसोबास रहेको छ र उनीहरुको मुख्य पेशा माछा मार्ने हो । ताराबाका प्रहरी प्रवक्ता डेभिड मिसालले दुबै पक्षबीच भएको हिंसात्मक झडपका बारेमा अनुसन्धान थालिएको बताउनुभयो । दुबै समुदायबीचको उक्त हिंसाको मुख्य कारण भने थाहा भइसकेको छैन ।

    स्थानीयबासीका अनुसार दुई समुदायबीच माछा पोखरीको स्वामित्वका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ । यही कारण बेलाबेला हुने झडपका कारण मानिसको मृत्यु हुने गरेको छ ।

    सन् १९९० को दशकमा राज्य सरकारले विवादित माछा पोखरीमा माछा मार्न दुबै समुदायमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सन् १९९९ मा हटाइएको थियो तर त्यसयता दुबै समुदायबीच अझ बढी हिंसात्मक झडप हुन थालेका छन् ।

    हिंसात्मक झडप भएको स्थानमा सशस्त्र प्रहरी खटाइएको छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार