• जीवनशैली | Jiwanshaili
  • मजदूरलाई राहत


    नेपाल टे«ड युनियन काँग्रेसले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज बल्खु तथा त्यस आसपास क्षेत्रका १७० मजदूरलाई राहत वितरण गरेको छ । कोरोनाको महामारी फैलिन नदिन देशभर गरिएको लकडाउनका कारण असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक (मजदूर) को स्थिति दयनीय भएकाले उनीहरुलाई युनियनले चामल, दाल, आलु, प्याज, नुन र तेल वितरण गरेको हो ।

    युनियनका कोषाध्यक्ष मोहनबहादुर बस्नेतले सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई आजको अवस्थामा ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेका श्रमिकको जीवन अहिले कष्टकर रहेकाले उनीहरुलाई सहयोगस्वरुप राहत वितरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार देशमा कोभिड–१९ को सङ्क्रमण व्यवस्थापन गर्न सरकारले गत चैत ११ देखि गरेको लकडाउन स्वागतयोग्य भएको भए पनि बन्दाबन्दीको स्थिति थप लम्बिएमा लाखौँ लाख श्रमिक बेरोजगार हुने हुँदा विकल्प खोज्न आवश्यक छ ।

    श्रमिक वर्गलाई गाँस, बाँस र कपासको प्रत्याभूति गर्न गराउन सरकारसँग माग गरेको उक्त युनियनले दैनिक आयस्रोत नभएर जीविकोपार्जन गर्न कठिन भएका नागरिकलाई मानवताका आधारमा खाद्यवस्तु प्रदान गर्न उद्यमी, व्यवसायी तथा दातालाई आग्रह गरेको छ । नामावली अभिलेख गरेर ३०० मजदूरलाई राहत दिने भनिएकामा १३० जनालाई वितरण गर्न बाँकी रहेकाले शनिबार वितरण गरिने जनाइएको छ ।

    –––


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस