• जीवनशैली | Jiwanshaili
  • सुरक्षाकर्मीका लागि स्वास्थ्य सामाग्री र खाजा सहयोग


    मुग्लिन,२० वैशाख  /कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहनुभएका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ ।

    चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप चेकपोष्ट र प्रहरी चौकी मझुवा गोरखाको चेकपोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीका लागि सो संस्थाले शुक्रबार स्यानिटाइजर, मास्क, पिउने पानी र चाउचाउ सहयोग गरेको हो ।

    प्रत्येक चेकपोष्टलाई २० थान स्यानिटाइजर, १०० थान मास्क, पाँच कार्टुन पिउने पानी र दुई कार्टुन चाउचाउका दरले सहयोग गरेको विवेक अटोमोबाइल प्रालि गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

    लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी विवेक अटोमोबाइल प्रालि पोखराका कर्मचारी उमेश भट्टराई र राजकुमार श्रेष्ठको सहयोगमा सो स्वास्थ्य सामग्री तथा खाजा वितरण गरेको उहाँले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस