क्वारेन्टाइनमा डोको र स्विटर बुन्दै
रुकुमपूर्व, २० वैशाख /भूमे गाउँपालिका वडा नं १ सिद्धचौर मावि लुकुममा बनाइएको क्वारेण्टाइनमा बसेकाहरुले बाँसको चोया र ऊनबाट सामग्री तयार पार्न थालेका छन् । क्वारेन्टाइनमा बसेका पुरुषले डोको र महिलाले ऊनबाट टोपी तथा स्विटर बुन्ने गरेका छन् । देशका विभिन्न जिल्लाबाट उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखेका उनीहरुले समयको सदुपयोग गर्दै क्वारेन्टाइनमै डोको र ऊनबाट बन्ने सामाग्री बनाउन थालेको वडा सदस्य नवीन्द्र पुनले बताउनुभयो । क्वारेन्टाइनमा बस्दा दिनरात सुतेर र बसेर कटाउन असजिलो भएपछि हाते सामग्री निर्माण गर्दै दिन कटाउन थालेको उहाँले बताउनुभयो ।
आफँहरु क्वारेन्टाइनमा बसे पनि घरका अन्य सदस्यलाई चोया र ऊन ल्याउन लगाएर डोको र ऊनबाट बन्ने सामग्री बनाउने गरेको क्वारेन्टाइनमा बस्नुभएका ज्ञानु पुन मगरले बताउनुभयो । दैनिक डोको बुन्ने, स्विटर, टोपीलगायत सामग्री बनाउँदै गर्दा दिन काट्न सजिलो भएको र समयको सदुपयोग भएको उहाँले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा खानपिन, सरसफाइ, स्वास्थ्य जाँच, सुरक्षालगायत व्यवस्थापन राम्रो भएको उनीहरुले बताएका छन् । वडाध्यक्षसहित पाँच सदस्यले क्वारेन्टाइन व्यवस्थापन र अनुगमन गर्ने कामको बाडँफाट गरेको वडा सदस्य पुनले बताउनुभयो । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्यावस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टाइन महिला १४ र पुरुष १६ छन् । उनीहरुलाई यही वैशाख ११ गते क्वारेन्टाइनमा राखिएको थियो ।
हालसम्म मजदूरी तथा अध्ययनका सिलसिलामा देशका विभिन्न ठाउँमा गएका रुकुम ९पूर्व० का एक हजार ४१ को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४३८ जना क्वारेन्टाइनमा छन् भने ६०३ होम क्वारेन्टाइनमा बसेका छन् । पुथाउत्तरगंगा गाउँपालिकाका १४ विद्यालयमा ३८३, भूमे गाउँपालिकाका चार ठाउँमा ५३ र सिस्ने गाउँपालिकाको रुक्मिणी माविमा दुई गरी ४३८ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।
पहिलो चरणमा जिल्लामा भित्रिएका १२९ को आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगिटिभ आएको छ । हाल आरडिटी कीट २९ थान बाँकी रहेकामा शङ्कास्पद भेटिएमा आरडिटी गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आरडिटी कीट कम भएकाले आवश्यक कीट प्रदेश सरकारसँग माग भइरहेको शर्माले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस