• जीवनशैली | Jiwanshaili
  • बन्दाबन्दीले छेकेन चाउचाउ उत्पादनलाई


    भद्रपुर, २० वैशाख  /तयारी चाउचाउ उत्पादन गर्ने झापाको एकमात्र कम्पनी मनसा थाई फुड प्रालिले बन्दाबन्दीको अवस्थामा समेत उद्योग सञ्चालन भइरहेको जनाएको छ । दुई वर्षअघि रु ४० करोडको लगानीमा खोलिएको उद्योगमा सयभन्दा बढी कर्मचारी रहेका छन् । स्थानीय क्षेत्रका बासिन्दालाई रोजगारी प्रदान गरेको हुँदा बन्दाबन्दीमा समेत उद्योग सञ्चालन गर्न समस्या नभएको सञ्चालक बुद्धि घिमिरेले जानकारी दिनुभयो ।

    उहाँले कच्चा पदार्थको अभावमा मागअनुसारको उत्पादन गर्न नसकेको बताउनुभयो । “काम गर्ने समय आधा घटाएका छौँ”, उहाँले भन्नुभयो, “दैनिक चार हजार ५०० कार्टुन मात्र उत्पादन गर्दैछौँ ।” उद्योगमा यसअघि १६ घण्टा काम हुने र उत्पादनसमेत दोब्बर हुँदै आएको थियो । मेचीनगर–१४ मा रहेको सो उद्योगका कामदारहरु मेचीनगर १३, १४ र भद्रपुर नगरपालिका–९ का बासिन्दा रहेका छन् । जसका कारण उनीहरु बन्दाबन्दीको समयमा समेत सजिलै उद्योगमा काम गर्न आइरहेका छन् । उनीहरुलाई उद्योगमा साबुन पानीले हात धुने व्यवस्थासहित सामाजिक दूरी कायम गरेर काम लगाउँदै आएको सञ्चालक घिमिरेले बताउनुभयो ।

    उद्योगमा काम गर्ने कर्मचारीले स्थापनाकालदेखि नै हातमा पञ्जा, मास्क र गाउन लगाउँदै आएको उहाँको भनाइ छ । यस उद्योगले मगमग, अकबरे, रेलीमाई, प्यारीलगायत ब्राण्डका चाउचाउ उत्पादन गरी देशभर बिक्री वितरणका लागि पठाइरहेको सञ्चालक घिमिरेको भनाइ छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस