महोत्तरीमा अज्ञात रोगले मर्नेको सङ्ख्या ११ पुग्यो

महोत्तरी, २० वैशाख / महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा पोखरेलले बताउनुभयो ।
मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो-होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ ।
“मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अब पिसिआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।” थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस