लकडाउन: यार्सासँगै जडीबुटी संरक्षणमा नयाँ अवसर

जाजरकोट, २१ वैशाख / विपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय र सामुदायिक वन समूहले पनि विपत् व्यवस्थापन समितिको निर्णयलाई पछ्याउँदै बन्द गर्ने निर्णय गरेका छन् ।
वर्षेनी यार्सागुम्बा सङ्कलन गरेर आम्दानी गर्ने सर्वसाधारणको कमाइ योपटक समस्यमा परे पनि प्रकृतिकरूपमा भने यसले फाइदा गरेको जानकारहरु बताउँछन् । संरक्षण र व्यवस्थापनको अभावमा बुहुमूल्य जडीबुटी यार्सागुम्बा (जीवन बुटी) लोप हुँदै गएको विगत १० वर्षको तथ्याङ्कबाट समेत आँकलन गर्न सकिन्छ । अव्यवस्थित सङ्कलन, जलवायु परिवर्तन र अवैधरूपमा निकासी गर्ने क्रमसमेत बढेकाले यार्सागुम्बा लोप हुँदै गएको छ । योपटक कोरोना भाइरसको त्रासका कारण हिमाली जिल्ला डोल्पा, मुगुमासमेत यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । बाँच्न र बचाउनका लागि यार्सागुम्बा सङ्कलनमा रोक लगाए पनि यहाँका हिमाली पाटनमा हुर्किँदै गरेका यार्सागुम्बा र जडीबुटीलाई भने संरक्षणका लागि प्रकृतिले नै मौका दिएको छ ।
स्थानीय जनताले जथाभावी यार्सा टिप्ने, बीउ पनि नराख्ने र फोहर गर्ने भएकाले यार्सा उत्पादनमा समस्या पर्दै आएको छ । हिमाली क्षेत्रमा स्थानीय जनताका लागि यार्सागुम्बा जीवन धान्ने आधार हुँदै आएको थियो । उनीहरुको मुख्य आम्दानीको स्रोत नै यार्सा र जडीबुटी हो । यार्सा उत्पादन पहिलेभन्दा आधा घटेको अनुभव रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका छत्र खड्काले बताउनुभयो । डोल्पाका पत्रकार विष्णुलाल बुढा भन्नुहुन्छ, “संरक्षण र बजारीकरणको महत्वपूर्ण आधार मात्र होइन यार्सागुम्बा संरक्षणका लागि यहाँ विशेष अभियान चलाउनुपर्ने हुन्छ । त्यो भएको छैन ।” नेपालका २५ जिल्लामा यार्सागुम्बा पाइन्छ । नेपालसहित भारत चीन, भुटान र तिब्बतमा यार्सा पाइन्छ । डोल्पा, रुकुम, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत क्षेत्रमा यार्सागुम्बा बढी पाइन्छ । तीमध्ये डोल्पा र रुकुमको पुपाल क्षेत्रको यार्सालाई व्यापारीले मन पराउने गरेका छन् । यहाँको यार्सा बढी मूल्यमा बिक्ने गरेको छ । एक तथ्याङ्कले यार्साजस्तै च्याउ विश्वमा ६८० प्रजातिका छन् । नेपालमा ११ प्रजातिका पाइन्छ ।
शक्तिवद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालका यार्सा निर्यात हुँदै आएको छ ।
यस्तो महत्वपूर्ण हुँदाहुँदै पनि यसको उचित संरक्षण हुनसकेको छैन । पहिले पाटनहरुमा सीमित मान्छेहरु टिप्न आउने, प्रकृतिमा समेत खासै समस्या पदैनथ्यो । पछिल्लो समय पाटन क्षेत्रमा मानवीय चाप बढेको र उचित संरक्षण हुन नसकेकाले अहिले सो क्षेत्रमा यार्सा पूर्णतः नष्ट भएको छ ।
यार्सा चार हजार ५०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा यार्सा पाइन्छ । अन्य जिल्लामा आफ्नै जिल्लाका स्थानीय जनतालाई यार्सा टिप्ने अनुमति दिने गरिएको छ तर डोल्पामा जुनसुकै जिल्लाबाट आएकाहरुले समेत यार्सा सङ्कलन गर्ने अनुमति पाउँछन् । त्यसैले पनि लापरवाही भएको अनुमान सङ्कलनकर्ताको छ । डिभिजन कार्यालय डोल्पाका प्रमुख जीतेन्द्र महतका अनुसार कुन यार्सा टिप्न हुने र कुन नहुने भन्ने जानकारी नै छैन । जानकारीको अभावमा बीउ हुने यार्सासमेत निकासी हुने गर्छ । यसैले यार्सा घट्दो अवस्थामा छ । यार्सागुम्बा सङ्कलन तथा बिक्री वितरणसम्बन्धी कायविधि, २०७३ स्वीकृत भई कार्यान्वयनमा आएको भए पनि डोल्पामा यसको जानकारी छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस