भागेका १९ जना क्वारेन्टाइनमा

बैतडी, २२ वैशाख / भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो । जिल्लाको दशरथचन्द नगरपालिकाका २१ मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ ।
क्वारेन्टाइनमा नबसी घर गएकालाई घरबाटै खोजेर क्वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्न नमानेको उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्केका हरेक नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने निर्देशिका जारी गरेको छ तर त्यसको विपरीत भारतबाट फर्केका घरमा गएपछि प्रहरीले घरबाटै खोजेर क्वारेन्टाइनमा राखेको हो । जिल्लाका अरु ठाउँका नागरिक क्वारेन्टाइनमा नबसेको जानकारी आएको छैन । त्यस्तो जानकारी आएमा प्रहरीले खोजी गरेर क्वारेन्टाइनमा ल्याउने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताउनुभयो । गएको बिहीबार झुलाघाट नाकाबाट एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए । त्यस्तै धारचुला नाकाबाट पनि धेरै नागरिक स्वदेश फर्किएका थिए ।
दुवै नाकाबाट बैतडीको पुर्चौंडीका मात्रै ८४८ स्वदेश फर्किएका छन् । यसैबीच कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरू बन्द भएको एक महिना बढी भइसकेको छ । बैसठ्ठी किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीसमेत खटाइएको छ तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन । शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । महाकाली नदीमा ट्युबमार्फत आउने मानिस लुकेर आउँदै सिधै घरमा गएर बसेका हुनसक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य भने तीव्र पारेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस