भोको पेटमा भोजनको व्यवस्था
दमौली, २६ वैशाख /तनहुँको व्यास नगरपालिका–२ र ४ मा बिहान ९ बजेपछि सर्वसाधारणको भीड लाग्छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले विपन्न तथा मजदुरलाई दैनिक भोजन उपलब्ध गराउन थालेपछि खाना खाने समयमा सर्वसाधारणको भीड लाग्ने गरेको हो ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी गरिएपछि प्रभावित भएका विपन्न वर्गलाई लक्षित गरी एकाइले दैनिक खाना खुवाउने व्यवस्था मिलाएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा उद्योग वाणिज्य सङ्घले बिहानको खानाको व्यवस्थापन मिलाएको एकाइका अध्यक्ष राजकुमार श्रेष्ठ ९राकु० ले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीपछि वडा नं २ मा तीन हजार र वडा नं ४ मा ३६० जनालाई खाना खुवाइएको छ । प्रत्येक दिन बिहानको एक छाक खाना खुवाउने गरिएकामा खानाका लागि सहयोगी व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्ने गरेका छन् ।
विपन्न तथा मजदुरलाई खाना खुवाउँदा हालसम्म रु दुई लाख ४० हजार खर्च भइसकेको छ भने रु एक लाख ५० हजार सङ्कलन भएको छ । “भोको पेट रहेकालाई खाना खुवाउनका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले आर्थिक सहयोग गर्नुहुन्छ, हामीहरुले त्यसको व्यवस्थापन मिलाएका छौँ”, श्रेष्ठले भन्नुभयो । व्यास नगरपालिका–२ मा उत्तरशीला टोल विकास संस्था र व्यास नगरपालिका–४ मा दरै समाजको भवनमा मजदुरलाई खानाको व्यवस्था गरिएको छ ।
ती दुई ठाउँमा बन्दाबन्दी खुलेको पाँच दिनसम्म पनि खाना खुवाउने व्यवस्था मिलाइनेछ । “बन्दाबन्दीले दैनिक मजदुरी गरेर छाक टार्नेलाई गाह्रो परेको अवस्था छ, त्यस्ता व्यक्तिलाई सहयोग गर्नु सबैको कर्तव्य हो”, श्रेष्ठले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई खाना खान आउन आग्रह गरेका छौँ ।” दमौलीमा ज्याला मजदुरी गर्नेहरु नै खाना खान आउने गरेका छन् । दुई ठाउँमा गरेर दैनिक २०० सर्वसाधारणले खाना खाइरहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस