पाकिस्तानले शनिबारदेखि लकडाउन खुकुलो बनाउने

इस्लामाबाद, २६ वैशाख / पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको हो ।
प्रधानमन्त्री इमरान खानले बिहीबार लकडाउनलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै लकडाउनबाट आम मजदूर, साना व्यवसायी र सर्वसाधारण जनतालाई बढी नै समस्या परेको बताउनुभयो । पाकिस्तानमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ भने ५९४ जनाको ज्यान गइसकेको छ ।
प्रधानमन्त्री खानले भन्नुभयो, “हामी विकासशील मुलुक हौं, त्यसैले हामी देशलाई यस्तो लकडाउनमा धेरै दिन राख्न सक्दैनौं ।” उहाँले अगाडि भन्नुभयो, “हाम्रो निर्यात घटेको छ । हामीसँग सीमित स्रोत छ र हामीले त्यसलाई जनताको भलाईमा खर्च गरिसकेका छौं । लकडाउनबाट प्रभावित सबैलाई मद्दत गर्न सक्ने अवस्थामा हामी छैनौं ।” पाकिस्तानमा कोरोनाभाइरसका बिरामी देखिएपछि गत मार्चदेखि लकडाउन जारी छ । बजार, व्यवसाय, सपिङ सेन्टर र कार्यालयहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा नराम्रो असर परेको छ ।
प्रधानमन्त्री खानले भन्नुभयो, “हाम्रो राजश्वमा ३५ प्रतिशत गिरावट आएको छ भने निर्यातमा पनि ठूलो असर परेको छ ।” पाकिस्तान सरकारले रमजानको यस महिनामा मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि अनुमति पनि दिएको छ । तर सरकारी अधिकारीहरुले आगामी जुलाई १५ सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेका छन् ।
पाकिस्तानी शिक्षा मन्त्री शफकत महमूदले सबै बोर्ड परीक्षाहरु रद्द गरिएका र यसअघिको बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंकलाई नै आधार मान्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस