जडिबुटीे सङ्कलन केन्द्रमै अलपत्र
प्युठान, २७ वैशाख /प्युठानका ग्रामीण समुदायको प्रत्यक्ष आम्दानीको स्रोत जडिबुटी अलपत्र परेका छन् । लाखांैँको मूल्यमा खरीद भएको तेजपात र दालचिनी बन्दाबन्दीले बिक्री नभएपछि संकलन केन्द्रमै दुई महिनादेखि थन्किएको छ ।
स्थानीय कृषकबाट प्रतिकेजी रु ३२ का दरले खरीद गरी लिइएको ६० क्विन्टल तेजपात र प्रतिकेजी. रु ८५ का दरले खरीद गरिएको १५ क्विन्टल दालचिनी मल्लरानी गाउँपालिका २ चुदरीखोलाको संकलन केन्द्र र स्थानीय व्यापारीको कोठामा थन्किएको स्थानीयवासीले बताएका छन् । बन्दाबन्दीका समयमा बजार नपाउने भएपछि केही कृषकले जडिबुटी संकलन नगर्दा बोटमै खेर गएको छ ।
बारी तथा निजी वनमा रहेका दालचिनी, काउलो, टिमुर, रिठ्ठो र दारुहल्दी (चुत्रो) का बोक्रा संकलन तथा बिक्री गरी स्थानीयवासीको आयआर्जन तथा रोजगारमा वृद्धि भएको थियो । बारीका कान्ला र निजी वनमा उत्पादन भएका सुगन्धित तथा औषधिका गुण भएका पैदावार बन्दाबन्दीका कारण संकलन केन्द्रमै थन्किएपछि कृषकलाई समस्या भएको छ । भुल्के चुदरीखोला सामुदायिक वनले निर्माण गरेको संकलन केन्द्र तथा स्थानीय व्यापारीले संकलन गरेको ६० क्विन्टल तेजपात र १५ क्विन्टल दालचिनी(बोक्रा) भण्डारमै थन्किएको संकलक नारायण बुढाथोकीले जानकारी दिनुभयो । गत वर्ष करीब १९० क्विन्टल तेजपात र दालचिनी बिक्री भएको चुदरीखोलामा यस वर्ष ४० प्रतिशत संकलन भए पनि जिल्ला बाहिर निकासी गर्न सकिएको छैन । ‘जडिबुटी खरिद गरेर राखेका छौँ’, बुढाथोकीले भन्नुभयो । रिठ्ठा तथा अन्य जडिबुटी काउलो, दारुहल्दी, पाखनवेद र सुगन्धकोकिला(मालागेडी) बन्दाबन्दीका कारण संकलन नै भएको छैन ।
दालचिनीको पात र बोक्रा निकाल्ने समय फागुन, चैत र वैशाख महिना भए पनि संकलनका समयमा नै बन्दाबन्दी भएपछि बिक्री नहुने आशंकामा संकलन नगरिएको कृषक उमबहादुर बुढाथोकीले बताउनुभयोे । यस वर्षका अधिकांश तेजपात र दालचिनी बोटमै छन् । निजी जग्गाबाट संकलित जडिबुटीबाट गत वर्ष प्रतिघरपरिवार रु ३० हजारदेखि रु एक लाख २० हजारसम्म वार्षिक आम्दानी गर्ने करीब दुई सय कृषकको यस वर्ष आम्दानी गुमेको छ ।
वार्षिक रुपमा करीब ३५–३५ टन तेजपात र दालचिनी, ३० टन रिठ्ठा, पाँच टन काउलो, दुई टन पाखनवेद र एक टन सुगन्धकोकिला प्युठानबाट निकासी भएकामा यस वर्ष हुन नसकेको डिभिजन वन कार्यालय प्युठानका रेञ्जर हरि पौडेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस