भोकमरी हुन नदिन खाद्यान्न भण्डारण
बझाङ, २७ वैशाख /मुलुकभर लकडाउन जारी रहँदा बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ । लकडाउनको अवधि लम्बिन सक्ने हँुदा सो गाउँपालिकाले खाद्यान्न खरिद गरी गोदाममा राख्नुपरेको गाउँपालिकाले बताएको छ । सो गाउँपालिकाको भामचौर, भैरवनाथ, रायल र बाँजका उच्च पहाडी गाउँबस्तीमा खाद्यान्न अभाव हुने भएकाले लकडाउनले कामकाज गर्न नपाएर यी गाउँबस्तीमा खाद्यान्न समस्या हुनसक्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा विपन्न गरिब परिवारलाई खाद्यान्न वितरण गरेको सो गाउँपालिकाले अहिले भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरिएको हो । नौ वडा रहेको सो गाउँपालिकाभित्र दुई हजार परिवारलाई राहत विरण गर्ने लक्ष्य रहेको अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश सरकारले लकडाउनको बेला दैनिक ज्यालादारीमा काम गरी खाने र अति विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि गाउँपालिकालाई २५ लाख रूपैयाँ विनियोजन गरेको थियो । उहाँले प्रदेश सरकारबाट आएको थप तीन लाखसहित पालिकाको पाँच लाख रूपैयाँ गरी जम्मा ३३ लाख रूपैयाँ बराबर खर्चको जोहो गरेको बताउनुभयो । गाउँपालिकाले पहिलो चरणमा ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ भने अहिले पुनः खाद्यान्न सकिएका घरपरिवारलाई खाद्यान्न वितरण गर्नेे योजना बनाएको छ । गाउँपालिकाले आफ्नै कार्यालयको सभाहलमा ३०० क्विन्टल चामल, ६० क्विन्टल दाल, ११५ क्विन्टल नुनसहित ३३६ कार्टुन खाने तेल खाद्यान्न भण्डारण गरेर राखेको छ ।
अध्यक्ष भण्डारीका अनुसार सो पालिकामा सामान्यतया खाद्यान्न अभाव हुने गरेको थियो । लकडाउनको समयमा पालिकाभित्रका कुनै पनि मानिस भोकै रहनु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न मौज्दात गरेको उहाँले बताउनुभएको छ । गाउँपालिकाभित्रका टोल बस्तीमा पनि बिहान–बेलुका दुई–दुई घण्टा खाद्यान्न पसल खुलाउने व्यवस्था गरेको छ । केदारस्युँ गाउँपालिकामा बागथला र गर्जेपानी गरी दुईवटा क्वारेन्टाइन स्थलमा २३ जना रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस