मुख्यमन्त्री शाहीद्वारा जुम्ला अस्पाताल अनुगमन
खलङ्गा, २८ वैशाख \जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निर्माण भएका आइसोलेशन, आइसियु, पिसिआर मेसिनलगायत संरचनाको अनुगमन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली जुम्ला पुगेको छ । सो अवसरमा मुख्यमन्त्री शाहीले सबै कर्णालीबासी मिलेर कोराना भाइरसविरुद्धको युद्ध जित्नुपर्ने बताउनुभयो । कोरोना भाइरसले कर्णालीमा पार्ने प्रभाव न्यूनीकरण गर्न प्रदेश सरकार निकै चनाखो भएर लागिपरेको मुख्यमन्त्री शाहीले बताउनुभयो । कर्णाली प्रदेश सरकारले सुर्खेतमा एक हजार क्वारेन्टाइन तयार गरेको छ । प्रत्येक जिल्ला र स्थानीय तहमा क्वारेन्टाइन बनाउनका लागि निर्देशनसमेत दिइएको र बाहिरबाट कर्णाली प्रदेशमा प्रवेशमा कडाइ गरिने मुख्यमन्त्री शाहीले बताउनुभयो । मुख्यमन्त्री शाहीका अनुसार कर्णाली प्रदेशका ७१८ वडामा स्वास्थ्यकर्मी परिचालन भइसकेका छन् । कम्तीमा एक वडाबाट १० जनाको स्वाब परीक्षण गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी गाउँमा गएर पालिकास्तरमा रहेका स्वास्थ्यकर्मीलाई तालीम दिएर स्वाब संकलन हुने छ । कोराना संक्रमण नदेखिएका क्षेत्रमा लकडाउन खोलिने नीति प्रदेश सरकारले लिने छ ।
एक सातासम्म सबै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गर्ने र स्वाब परीक्षणको काम सकाएर नतिजाका आधारमा लकडाउन खोल्ने या बन्द गर्ने निष्कर्षमा पुगिने मुख्यमन्त्री शाहीले बताउनुभयो । सो अवसरमा सामाजिक विकासमन्त्री दल रावलले कोरोनाविरुद्ध सबैभन्दा लड्ने स्वास्थ्यकर्मी भएकाले प्रदेश सरकारले तिनलाई विशेष भत्तासमेतको व्यवस्था गरेको र प्रदेशभित्रका अस्पताललाई चाहिने स्वास्थ्य प्रयोगशालाको कमी नगरेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका अस्पतालमा संचालनमा आएको कोरोना परीक्षण पिसिआर मेसिनको किट आवश्यक रुपमा खरिदसमेत गरी अस्पतालमा पुगिसकेको सामाजिकमन्त्री रावलले बताउनुभयो । सो अवसरमा प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रीता जोशीको पनि उपस्थिति थियो । हुम्लामा मन्त्री रावल जुम्लास्थित प्रतिष्ठानका शिक्षण अस्पतालका चिकित्सकलाई लिएर कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावल हुम्ला पुग्नुभएको छ । कोरोना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कर्णाली प्रदेशका १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाइरहेको मन्त्री रावलले बताउनुभयो । कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । मन्त्री रावलका अनुसार प्रदेश सरकारले शनिबार डोल्पामा स्वास्थ्यकर्मी पठाइसकेकामा आज हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस