जगातीमा डिस्इन्फेक्सन टनेल सञ्चालन
भक्तपुर, २९ वैशाख /पूर्वका जिल्लाबाट काभ्रे हँुदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।
सवारी साधन निःसङ्क्रमण गराउने उद्देश्यले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीमा उक्त टनेल सञ्चालनमा ल्याएको हो ।
काभ्रेबाट भक्तपुरहँुदै काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम कम गर्न सरकारको स्वीकृतिमा टनेल निर्माण गरेको हो । अरनिको राजमार्ग, बिपी राजमार्गलगायतपूर्वबाट काभ्रे हँुदै आएका चारपाङ्ग्रे सवारी साधनलाई जगाती चेकपोष्टमा राखिएको टनेलमा निःसङ्क्रमण गरेर मात्रै प्रवेश गराउन शुरु गरिएको छ ।
टनेलको सङ्घीय सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको प्रयासलाई निजी क्षेत्रले पनि पु¥याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । सांसद बस्नेतले भन्नुभयो, “अहिले विश्वमा झण्डै २५० देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ, कोरोनाको सङ्क्रमण रोक्ने भएको प्रयासमा उत्कृष्ट काम गर्ने मुलुकमध्ये नेपाल ५० औँ नम्बरमा पर्छ, सार्क राष्ट्रमा नेपाल कोरोना सङ्क्रमण रोक्न गरेको सफल प्रयासमा पहिलो नम्बरमा पर्छ, अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु नहुन पनि उपलब्धि हो, यो सरकारको प्रयास र सबैको सहयोगले सफल भएको हो ।”
नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने किटको अभाव भएको हल्ला चलाइए पनि त्यस्तो अभाव नभएको दाबी गर्दै उहाँले सरकारले तीव्रगतिमा किटमार्फत कोरोना परीक्षणको कार्य अगाडि बढाएको बताउनुभयो । कोरोनाका कारण भएको लकडाउनमा अलपत्र परेका मजदूरको उद्धारदेखि मजदूर, गरिब, असहायलाई निःशुल्क खाना खुवाउने काममा भक्तपुर उदाहरणीय रहेको बताउँदै उहाँले भक्तपुरमा विकास निर्माणका कामलाई तीव्रता दिन थालेको बताउनुभयो ।
सांसद बस्नेतले भन्नुभयो, “लकडाउनले देशको डामाडोल बन्दै गएको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउने कामको शुरुआत सरकारले गरेको छ, कलकारखाना, उद्योग व्यवसायीलाई सुरक्षित तरिकाले सञ्चालन गर्ने, विकास निर्माणका कामलाई सञ्चालन गर्ने कामलाई थालिएको छ, विस्तारै सबै ठिक हुन्छ ।”
कार्यक्रममा लकडाउनको समयमा खाद्यपदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिन झोल राख्नका लागि सोही कम्पनीले पाँच हजार लिटर क्षमताका एक र एक हजार लिटर क्षमताका एक गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखेको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिनेछ ।
अध्यक्ष थापाले औषधिबाहेक टनेल निर्माणका लागि रु एक लाख ६६ हजार खर्च भएको जानकारी दिनुभयो । कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेलमा दुईतर्फ र माथि रहेको १४ वटा नोजलबाट स्वीच अन गरेलगत्तै आउने क्लोरिन झोलले नौ सेकेण्डमा नै सवारी साधन निःसङ्क्रमण गर्न सकिने उहाँको दाबी छ ।
मानिसको छालामा क्लोरिन झोल पर्नसक्ने भएकाले सिसा नभएका गाडी र दुईपाङ्ग्रे सवारी साधन भने टनेलमा प्रवेश गर्न रोक लगाएको छ । यस प्रकारको टनेल फर्पिङ, बालाजु, नुवाकोट, सीतापाइलालगायत अन्य सात ठाउँमा राख्ने तयारी गरेको थापाले बताउनुभयो ।
नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि भक्तपुर छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर जाने व्यवस्था गरिएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
सवारी साधन निःसङ्क्रमण गरेपछि नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको टोलीले सवारी साधनबाट मानिस झारेर स्वास्थ्य टोलीसहितको पोष्टमा शरीरको तापक्रम मापन गर्ने, स्वास्थ्य परीक्षणमा समस्या परेकालाई सोही ठाउँमा रहेको अस्थायी आइसोलेसनमा राखेर अस्पताल पठाउने, ऊ कहाँबाट आएको, कहाँ जानेदेखि सम्पूर्ण व्यक्तिगत विवरण लिएर मात्रै पठाउने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख विश्वप्रसाद भट्टराई, नेपाली सेनाको टोलीसहितको सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस