भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना
२९ वैशाख/ भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । उहाँ अस्पताल भर्ना हुनुभएको उक्त अस्पतालले पुष्टि गरेको छ ।
सो समाचारको भारतीय काँग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुश भएपछि उहाँलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ ।
पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उहाँ ८७ वर्षको हुनुहुन्छ । पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।यसअघि पनि डा.सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उहाँको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।
यसपटक छाती दुखेपछि उहाँलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद हुनुहुन्छ । उहाँले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । यसैबीच उहाँको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गर्नुभएको छ ।
उहाँले पूर्वप्रधानमन्त्री डा.सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस