इरानी युद्धपोतद्वारा क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु
दुबई, २९ वैशाख /तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरु १५ जना घाइते भएको इरानी संचार माध्यमहरुले जनाएका छन् ।
खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामुद्रिक मार्गका रुपमा रहेको ओमानी जलक्षेत्र हुँदै जहाजहरु स्ट्रेट अफ हर्मुजतर्फ ओहोरदोहोर गर्दछन् ।
स्ट्रेट अफ हर्मुज र ओमानी जलक्षेत्रमा इरानले नियमित रुपमा सैन्य अभ्यास गर्ने गरेको छ । इरानी टेलिभिजन आइरिबले एउटा जहाजबाट प्रहार गरिएको क्षेप्यास्त्र नजिकै रहेको अर्को जहाजमा खसेको जनाएको छ ।
फार्स समाचार एजेन्सीले एक सैनिक स्रोतलाई उद्धृत गर्दै इरानी संचार माध्यममा प्रसारण भएझैं कोनाराक नामको लडाकू युद्धपोत समुद्रमा नडुबेको जनाएको छ । इरानी जलसेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
आइरिबले नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानले खरिद गरेको थियो । यो जहाजलाई सन् २०१८ मा मर्मत गरी यसमा चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ ।
यो दुर्घटना इरान र संयुक्तराज्य अमेरिकाबीच जारी तनाबकै बीचमा भएको छ । सन् २०१८ देखि नै दुबै मुलुकबीच तनाबकै स्थिति रहे पनि गत जनवरीको शुरुमा वरिष्ट इरानी सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा मारिए पछि तनाब अझ बढेको छ ।
अमेरिकी कारबाहीको प्रतिशोधमा इरानले पनि जनवरी ९ मा इराकस्थित अमेरिकी अखडाहरुमा क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यही दिन इरानी सैनिकले प्रहार गरेको क्षेप्यास्त्रबाट युक्रेनी यात्रुबाहक विमान इरानमा खसेको थियो जसका कारण विमानमा यात्रारत १७६ जनाको निधन भएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस