फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी गरिँदै
काठमाडौँ, ३० वैशाख /निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो ।
विश्वभरि फैलिएको कोभिड–१९ का कारण दुई महिनादेखि सरकारले देशभरि लकडाउन गरे पनि दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम भएको थियो । निर्माणको काम यस आर्थिक वर्षको अन्त्यसम्ममा पनि पूरा नहुने भएपछि कामपाले अन्य स्थानको खोजी गर्नुपरेको हो । उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएकाले र दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण सम्पन्न पूरा नभएकाले आगामी दिनमा फोहर व्यवस्थापनको काम थप समस्याको विषय बनेको छ । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिलसाइट छिटो सञ्चालनमा ल्याउन शहरी विकास मन्त्रालय र कामपाबाट संयुक्त प्रयास भने भइरहेको छ ।
“अन्य समयमा भन्दा बर्खाको समयमा फोहर उत्पादन बढी हुन्छ । यसअघि फोहर व्यवस्थापन भइरहेको स्थानमा फोहर राख्न मिल्ने अवस्था छैन । यसै हप्ता नुवाकोटकै अन्य स्थानमा अल्पकालीन फोहर व्यवस्थापन स्थलको टुङ्गो लगाउने तयारी छ”, कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अन्योल भएको छ । निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा एक हजार ७९२ रोपनी जग्गा छ । काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैभन्दा बढी कामपाबाट र अन्य अरु १७ स्थानीय तहबाट फोहर नुवाकोट लगिने गरिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल १३ वर्षअघि कामपाले दुई वर्षका लागि भन्दै उपभोग गर्दै आएको हो । क्षमताभन्दा बढी र तोकिएको समयभन्दा बढी समय फोहर व्यवस्थापन गर्दै आएको भन्दै सिसडोलका स्थानीयवासीले यसअघि नै विरोध गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस