स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
राँझा, ३० वैशाख / कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी त्रसित भएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।
उहाँका अनुसार यही वैशाख २६ गते प्रसूति गराउन आउनुभएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको हो ।
स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने र ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गरी प्रहरीमा उजूरी दिएको स्वास्थ्य चौकीका प्रमुख पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले सोनपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आफूहरुमाथि जीउज्यानको सुरक्षा गरी पाऔँ भन्दै कार्यालयमा निवेदन दिएको जानकारी दिँदै सोबारे अनुसन्धान शुरु भएको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीले धमाधम स्वाब सङ्कलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस