रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन
जुम्ला, १९ जेठ /फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।
अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टिनमा ३८३ नागरिक बसेका छन् ।
बाहिरबाट आउने नागरिकको सङ्ख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले विरोध गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य यतिबेला सङ्कटमा छ । सबै सहयोग सर्मथन र हातेमालो गरी कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नुपर्ने बेलामा जानेबुझेकै व्यक्तिले असहयोग गर्ने गरेका छन् ।” स्थानीयवासीलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उहाँले टिप्पणी गर्नुभयो ।
चन्दननाथ नगरपालिका–१० कार्तिकस्वामीस्थित जनज्योति मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माविमा क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले अवरोध गरेको उहाँले बताउनुभयो । नगरपालिका–१० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । उहाँले भन्नुभयो, “आइसोलेसन केन्द्र र अस्पताल नजिकका विद्यालयमा क्वारेन्टिन बनाउन छोडेर टाढाका विद्यालयमा बनाउन खोज्दा स्थानीयवासीको विरोध हुनु स्वाभाविक हो ।
रोग सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउनु हुँदैन । यसबाट नागरिक त्रसित छन् ।” लकडाउन अवधिभर जुम्लामा १२ हजार ९२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा एक हजार २७३ जना क्वारेन्टिनबाट घर फिर्ता भएका छन् । एक हजार ६८४ को पिसिआर परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस