• जीवनशैली | Jiwanshaili
  • कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता


    धनगढी, १९ जेठ/ कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

    जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ गरी सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जारी गरेको बन्दाबन्दीलाई जिल्लाका सबै नागरिकले पालना गरिदिन आग्रह गर्दछु । ” जोखिम हुन नदिन छिमेकी जिल्ला अछाम, बझाङ, कालीकोट, मुगु र हुम्लाका नाकाहरुबाट आवत जावतसमेत पूर्णरुपमा बन्द गर्न लागिएकोे उहाँले जानकारी दिनुभयो ।

    भारतबाट फर्किइ आइसोलेशनमा राखिएकी बूढीगङ्गा नगरपालिका–१ का दुई वर्षीया बालिकाको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार मृत्यु भएको थियो । मृतकसहित उनका आमा र बुवा यही जेठ १३ गते कैलालीको गौरीफण्टा सीमानाका हुँदै भित्रिएका थिए । बालिकाका बुवालाई भने कोरोना नेगेटिभ देखिएको छ । कोरोनाको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा पहिलो मृत्यु भएपछि स्थानीयवासीमा सन्त्रास देखिएको छ ।

    बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले बाहिरबाट नगरमा भित्रिनेको आवागमनमा तथा बजारमा जथाभावी हिँडडुल गर्नमा समेत रोक लगाउन लागिएको जानकारी दिनुभयो ।

    आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा रोगको रोकथामका लागि थप सतर्कता अपनाउने बारेमा छलफल गरिएको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस