क्यान्सर अस्पतालमा टहरा निर्माण
चितवन, १९ जेठ / बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामी र कुरुवाका लागि टहरा निर्माण गरेको छ । उपचारका लागि आएका बिरामी र आफन्तको जीवन कष्टकर बन्दै गएको गुुनासो आएसँगै जिल्ला प्रशासनले उनीहरुको व्यवस्थापन गर्न अस्पताललाई निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थलगत निरीक्षणसँगै अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई कार्यालयमा बोलाएर तत्काल अस्थायी व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । लकडाउनका कारण होटलहरु बन्द भएको र बिरामीसँगै आएका आफन्तले खान र बस्न कठिन भएको भन्दै तत्काल टहरा निर्माण गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको थियो ।
अस्पतालले उपचारका लागि आएका बिरामी र कुरुवालाई ओत लाग्ने ठाउँको व्यवस्था गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले अस्पतालभित्र रहेको कुरुवा घरको छेउमा रहेका टहरालाई मर्मत सम्भार गर्ने काम भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय समाचार समितिबाट यही जेठ १४ गते ‘क्यान्सरको उपचारका लागि आएका बिरामी र कुरुवाको विचल्ली’ शीर्षकमा समाचार सम्प्रेषण भएको थियो । अस्पतालले उपचारका लागि आएर भर्ना नभएका बिरामी र उनीहरुको आफन्तलाई खाना बनाउन र बस्नका लागि टहरा सरसफाइ र मर्मतको काम गरेको हो । उपचारका लागि आएको बिरामी र उनका आफन्त लकडाउनका कारण होटल बन्द भएसँगै खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । खाली चौरमा खाना पकाउने र बरन्डा, प्यासेजमा बिरामी र कुरुवाले रात काट्नुपरेको छ ।
निर्देशक डा गौतमका अनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ । टहरा मर्मतको काम सकिएपछि उनीहरुलाई त्यहाँ लगेर राखिने उहाँले जानकारी दिनुभयो । आज दिनभरमा मर्मत सम्भारको काम सकिने जनाइएको छ । अस्पताल आएका बिरामी र उनका कुरुवाले बस्न र खानको समस्या भएको बताएका छन् ।
उनीहरुको दैनिकी बाहिर खाना पकाउँदा र सुत्दा पानी परेर झनै कष्टकर बन्दै आएको छ । केमो दिनुपर्ने बिरामी, विभिन्न परीक्षणको नतिजा कुर्नेहरु र अस्पतालले मापदण्ड नपुगेर भर्ना नलिएका बिरामी बाहिर बस्न बाध्य भएका छन् । उहाँले भर्ना नभएका बिरामीको व्यवस्थापन अस्पतालले गर्न सम्भव नभए पनि मानवताका हिसाबले अस्थायी वासस्थानको व्यवस्था गरेको बताउनुभयो । अस्पतालमा ५० जना बिरामी राख्न मिल्ने कुरुवा घर भरिएपछि अन्यले ठाउँ नपाएका हुन् । यससँगै अस्पताल प्रशासनले तीन दिनयता टहराको सरसफाइ र मर्मत थालेको हो । लकडाउन भएसँगै अस्पताल आसपासका सबै होटल बन्द छन् ।
अस्पतालमा दैनिक देशका विभिन्न ठाउँबाट बिरामी लिएर ५० हाराहारी एम्बुलेन्स आउने गरेका छन् । विसं २०५७ बाट सञ्चालमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्छन् । यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस