अनलाइनबाटै कर तिर्न सकिने
चितवन, २२ जेठ / आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ ।
आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम असार ७ गतेभित्र भुक्तानी गर्न सूचित गरिएको बताउनुभयो । उहाँका अनुसार अग्रिम कर कट्टी रकम र चैत महिनामा भुक्तानी गर्नुपर्ने चालू वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भुक्तानी गर्नुपर्ने छ । लकडाउनको समयमा करदाताले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको काम नगरेको भए पनि विवरण भने बुझाउनुपर्ने छ ।
करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भुक्तानी गर्न भनिएको उहाँको भनाइ छ । लकडाउनले हिँडडुल गर्न अप्ठ्यारो परेमा आन्तरिक राजश्व विभागको वेबसाइट www.ird.gov.np मा गई आफूले भर्नुपर्ने विवरण भरेर आफ्नो फार्मको खाताबाट सोझै राजश्व कार्यालयको खातामा भुक्तानी गर्न सकिने छ । जसका लागि अप्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भुक्तानी गर्न सकिने उहाँले बताउनुभयो । लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै उहाँले भन्नुभयो, “करदाताले कार्यालयलाई तिर्न विभिन्न माध्यमबाट सङ्कलन गरेको कर तिर्नु भनेको हो ।” फागुनअघिका महिनाका विवरण र करका लागि भने म्याद थप नभएको उहाँले स्पष्ट पार्नुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अहिले लकडाउनै भएकाले कम्तीमा असार २५ गतेसम्म समय दिनुपर्ने बताउनुहुन्छ । लकडाउनका कारण व्यवसाय बन्द भएकाले सङ्कटको समयमा कर तिर्ने पैसा कर्मचारीको तलबलगायतमा खर्च भएको भन्दै लकडाउन खुलेपछि मात्र कर तिर्न सहज हुने उहाँले बताउनुभयो । यस कार्यालयमा करिब ६० हजार करदाता रहेका छन् । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयले गएको वैशाखसम्म रु २१ अर्ब राजश्व सङ्कलन गरेको छ । त्यस अवधिको लक्ष्य रु ३५ अर्ब रहेको थियो । यस वर्षको लक्ष्य रु ४३ अर्ब रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस