• जीवनशैली | Jiwanshaili
  • बन्दाबन्दीमै पुस्तक ढुवानी


    म्याग्दी, २३ जेठ / नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक जिल्ला भित्रिएको छ । कोरोना भाइरसको जोखिम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच पुस्तक ढुवानी भइरहेको छ । शिक्षा मन्त्रालयले लकडाउनको अवस्थामा असार १ गतेदेखि वैकल्पिक व्यवस्था गरेर पठनपाठन गराउन निर्देशिका जारी गरेसँगै म्याग्दीका विद्यालयले विद्यार्थीलाई स्वअध्ययन गराउने तयारीमा जुटेका छन् । विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वातावरण बनाउन लागेको बेनी–९ नेप्टेचौरको राष्ट्रिय माविका शिक्षक रामचन्द्र शर्माले बताउनुभयो ।

    “सामाजिक दूरी कायम र लकडाउनको परिपालना गरेर विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन लागेका छौँ”, उहाँले भन्नुभयो, “वैकल्पिक माध्यमबाट पढाउन भने पनि स्पष्ट नभएकाले पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययन गर्न उपयोगी हुन्छ ।” भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौती छ । सबै वर्ग र क्षेत्रका विद्यार्थीमा रेडियो–टेलिभिजनको पहुँच पनि छैन । विद्यार्थीहरुले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले जेठ महिनाभित्र पुस्तक वितरण गरिसक्ने विद्यालयको योजना छ ।

    पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ, म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक ल्याएर बिक्रीकक्ष स्थापना गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी कक्षा १ देखि १० सम्मको पुस्तक आयात भएको छ । स्थानीय तहका शिक्षा शाखामार्फत तथ्याङ्क सङ्कलन गरेर मागका आधारमा पुस्तक ल्याइएको महासङ्घका जिल्ला अध्यक्ष मुकुन्दप्रसाद आचार्यले बताउनुभयो । “पुस्तक अभाव नहोस् भनेर पर्याप्त मात्रामा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक पठाउन थालेका छौँ ।” उहाँका अनुसार पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि लकडाउन भए पनि शैक्षिकसत्र शुरु हुनुअघि नै ढुवानी गरिएको हो । पालिकाले विद्यालयलाई पुस्तक खरिदका लागि माग गरिएकोमध्ये ७० प्रतिशत बजेट पेश्की उपलब्ध गराएका छन् । आन्तरिक स्रोत जुटाएर पुस्तक खरिदवापतको रकम भुक्तानी गरिएको रघुगङ्गा–४ दग्नामको जनता माविका प्रअ गुन पुनले बताउनुभयो ।

    दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा वार्षिक रु एक करोड बजेट खर्च हुने गरेको छ । एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार २५० सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम र लम्बिँदो लकडाउनका कारण तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने अपेक्षा गरिएको छ । मङ्गला गाउँपालिकाले तल्लो कक्षाका विद्यार्थीका लागि सिकाइ सामग्री तयार पारेर वितरणको तयारी गरेको शिक्षा शाखा संयोजक डेकबहादुर बानियाँले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस