धवलागिरिमा कोरोना सङ्क्रमित सङ्ख्या ३०
बागलुङ, २४ जेठ /धवलागिरि क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । मुस्ताङबाहेक यहाँका तीनै जिल्लामा सङ्क्रमण देखिएको छ । आज बागलुङ, ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कूल सङ्क्रमितको सो सङ्ख्या पुगेको हो । बिहीबार बागलुङमा १०, पर्वतमा चार र म्याग्दीमा एक सङ्क्रमित थपिएका थिए । त्यसअघि बागलुङका आठ, पर्वतका पाँच र म्याग्दीका एक जनामा कोरोना देखिएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म बागलुङका १९, पर्वतका नौ र म्याग्दीका दुईमा सङ्क्रमण पुष्टि भएको छ । तीनै जिल्लामा अहिलेसम्म पत्ता लागेका सङ्क्रमित सबै विदेशबाट आएका हुन् । यस क्षेत्रमा पहिलोपटक गत चैत १५ मा बागलुङकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । त्यसको एक सातापछि बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको थियो । दुवै जना चैत ४ मा बेल्जियमबाट आउँदा सङ्क्रमित भएका थिए । उनीहरु कोरोनामुक्त भइसकेका छन् ।
बागलुङ, पर्वत र म्याग्दीमा गरी २८ जनामा अहिले कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । सबै सदरमुकामस्थित अस्पतालका आइसोलेसनकक्षमा उपचाररत छन् । चिकित्सकका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ । पछिल्लो समय भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना परीक्षण बढाइएसँगै सङ्क्रमित भेटिन थालेका हुन् । बागलुङमा शुरुमा भेटिएका दुई महिलाबाहेक सबै हालै भारतबाट आएका व्यक्ति हुन् । बागलुङमा मात्रै भारतबाट आएका एक हजार ४४९ जना क्वारेन्टिनमा छन् ।
उनीहरुमध्ये झण्डै ४०० जनाको कोरोना जाँच गरिएको छ । पर्वत, म्याग्दीमासमेत हालै भारतबाट आएकाहरु सयौँको सङ्ख्यामा छन् । भारतबाट आएकामध्ये कमको मात्र कारोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भारतबाट आई क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो । सङ्क्रमित बढेसँगै आइसोलेसनकक्ष थप्न स्थानीय तह जुटेका छन् । बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पतालका आइसोलेसन श्यया सङ्क्रमितले भरिएका छन् ।
आज कोरोना पुष्टि भएका ताराखोलाका सङ्क्रमितलाई पनि सोही अस्पताल ल्याइँदैछ । धवलागिरि अस्पतालमा आइसोलेसन श्यया बढाएर २४ पु¥याइने र बाहिर ८५ श्ययाको प्रि–आइसोलेसनकक्ष बनाउने निर्णय भएको प्रमुख गुरौले बताउनुभयो । उहाँका अनुसार धवलागिरि बहुमुखी क्याम्पसमा ५०, गलकोट, कुश्मीसेरा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२–१२ श्ययाको प्रिआइसोलेन कक्ष बनाइनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस