सर्पले टोकेका बिरामीको कोरोना पोजेटिभ आउँदा चिकित्सक आतङ्कित
सुर्खेत, २८ जेठ /बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए । बिरामी परेका ती पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उपचारमा खटिएको प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिनुभयो ।
बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि औपचारिक रूपमा जानकारी नभएको निर्देशक डा खड्काले बताउनुभयो । “बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पतालभित्र छिराए र उपचार गर्न लगाए”, उहाँले भन्नुभयो, “क्वारेन्टिनमा बसेको र कोरोना सङ्क्रमित हुन् भन्ने थाहा नहुँदा उपचारमा एक्सपोजर भएका चार चिकित्सकमा अहिले आतङ्क फैलिएको छ ।” उहाँले भन्नुभयो, “बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ । उनलाई क्वारेन्टिनबाट ल्याइएको हो भन्ने अगाडि थाहा पाएको भए चिकित्सक पनि पिपिइ सेट लगाएर बिरामीको उपचारमा लाग्थे तर बिरामी ल्याउनेले र गाउँपालिकाले कुनै पनि जानकारी नदिँदा उपचारमा संलग्न चिकित्सकले सामान्य तरिकाले उपचार गर्नु भएछ ।” निर्देशक डा खड्काले यसरी झुक्याएर बिरामीलाई अस्पतालमा ल्याउँदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको भन्दै सबैबाट यस्तै व्यवहार भएमा अस्पतालले दिइरहेको सबै सेवाहरु बन्द हुनसक्ने चेतावनी दिनुभएको छ ।
क्वारेन्टिनमा खटिएका चिकित्सक र गाउँपालिकाले सही सूचना नदिँदा यो समस्या उत्पन्न भएको जनाउँदै उहाँले यो विषम परिस्थितिमा सत्यतथ्य सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिनुपर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको स्वीकार गर्नुभएको छ । बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ हुनुले चिकित्सकदेखि उनको उपचारमा संलग्न सबैमा कोरोना सङ्क्रमण फैलिने सम्भावना छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस