बागलुङका चार सङ्क्रमित निको
जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् । गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक कोरोनामुक्त भएका हुन् ।
पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “चारै जना स्वस्थ हुनुहुन्छ, आइसोलेसनमा रहँदा कुनै लक्षण पनि देखिएन”, उहाँले भन्नुभयो । एकैसाथ सङ्क्रमण देखिएका तमानखोलाकै दुई युवकको भने पछिल्लो परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि अस्पतालको बसाइ लम्बिएको छ । लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ ।
निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको प्रमुख चिकित्सक पोखरेलले बताउनुभयो । योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको सङ्ख्या छ पुगेको छ । यसअघि गत चैतमा सङ्क्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन् ।
जिल्लामा हालसम्म भेटिएका कूल ४० सङ्क्रमितमध्ये अब ३४ जनामा मात्र कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । उनीहरुमध्ये १३ धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा छन् भने बाँकी धवलागिरि बहुमुखी क्याम्पस र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘प्रिआइसोलेसन’मा छन् । सङ्क्रमितमध्ये बागलुङ नगरपालिकाका दुई महिलालाई बेल्जियमबाट आएपछि कोरोना देखिएको थियो । बाँकी सबै सङ्क्रमित हालै भारतबाट आएका हुन् । चिकित्सकका अनुसार सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस