• जीवनशैली | Jiwanshaili
  • प्रदेश ५ मा दश महिनामा ३८२ आत्महत्या


    रुपन्देही, ३० जेठ/ प्रदेश नं ५ मा १० महिनाको अवधिमा ३८२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा भने पुरुषको सङ्ख्या धेरै छ । सबैभन्दा बढी रुपन्देहीमा ११७ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा ७३ जनाले आत्महत्याको बाटो रोजेका छन् । त्यस्तै कपिलवस्तुमा ४२, नवलपरासीमा ३१, पाल्पामा २४, गुल्मीमा २३, बर्दियामा १७, रोल्पामा १५, अर्घाखाँचीमा १४, प्यूठानमा १३, रुकुममा आठ र बाँकेमा पाँचजनाले आत्महत्या गरेका छन् ।

    कोरोना भाइरस सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीको समयमा मात्रै २६० जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष ४१ जना बढीले आत्महत्या गरेका हुन् । गतवर्ष सोही अवधिमा २१९ जनाले आत्महत्या गरेको प्रदेश नं ५ प्रहरी कार्यालयको तथ्याङ्कमा देखिन्छ ।

    बन्दाबन्दीको समयमा सबैभन्दा बढी दाङमा ७१ जनाले आत्महत्या गरेका छन् । यसैगरी बन्दाबन्दीमा रुपन्देहीमा ५१, कपिलवस्तुमा २८, बर्दियामा २६, नवलपरासीमा १६, पाल्पामा १५, रोल्पामा ११, बाँकेमा आठ, प्यूठानमा छ, रुकुमपूर्वमा पाँच, अर्घाखाँचीमा चार गुल्मीमा एकजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १४० जना पुरुष र १२० जना महिला छन् । मनोपरामर्शकर्ताका अनुसार मनोसामाजिक समस्या नै आत्महत्याको प्रमुख कारण हो । सामान्य समस्या र निराशाले ठूलो रुप लिएपछि व्यक्ति आत्महत्याको अवस्थासम्म पुग्छ । यसको नियन्त्रणका लागि सरकारले मनोविमर्श सेवा र सचेतना कार्यक्रम वडास्तरमा पु¥याउन आवश्यक छ भन्नुहुन्छ मनोविमर्शकर्ता कमला गहतराज । उहाँ भन्नुहुन्छ, “आत्महत्या कुनै पनि समस्याको समाधान होइन ।

    व्यक्तिलाई यो अवस्थासम्म पुग्न नदिन परिवार समाजको ठूलो भूमिका हुन्छ ।” आत्महत्याका घटना न्यूनीकरण गर्न तीनै तहका सरकारले गम्भीररुपमा लिएर सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । कतिपयले समाजको असमान शक्ति सम्बन्धलाई नै हिंसाको मूल जड मान्ने गर्छन् । परिवार, समाज र राज्यका निर्णायक तहमा समान सहभागिता नहुँदा महिलामाथि विभेदका घटना हुँदै आएको पाइन्छ । हिंसा र विभेदकै कारण धेरै महिलाले आत्महत्या गरेको पाइएको छ । त्यसैले लैङ्गिक हिंसाको विषयलाई तीन तहका सरकारले नै प्रमुख समस्याका रुपमा लिएर यसलाई न्यून बनाउनका लागि कदम चाल्नुपर्ने धेरैको सुझाव छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस